प्रवासी नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको माग गर्दै प्रधानमन्त्रीलाई ९ बूँदे ज्ञापन पत्र

माघ,२८–टोकियो/नेपाली जनसम्पर्क समिति जापानले विभिन्न ९ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले नेपाली दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

समितिले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको सरकारले देशमा सुशासन कायम गर्न नसकेको भन्दै जनताका एजेण्डा स्थापित गर्न सरकार असफल भएको ठहर गरेको छ । साथै समितिले देशमा मौलाएको गरिबी, भ्रष्टाचार, हत्याहिंसा र बलात्कारका घटनाप्रति नेपाली जनसम्पर्क समिति जापानको गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ ।समितिले ज्ञापन पत्रमार्फत विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेको छ । उसले निर्मला पन्तका हत्यारालाई कानुनी कारवाहीका साथै पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न, सुन काण्ड र वाइडवडी भ्रष्टाचार प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यसैगरी चिकित्सा शिक्षाका सम्बन्धमा गोविन्द केसीका माग सम्बोधन गर्न, प्रतिपक्षी दलका सभापतिको अनुपस्थितीमा संवैधानिक परिषदले गरेको सम्पूर्ण निर्णय खारेज गर्न, कांग्रेस नेताका नाममा स्थापना भएको अस्पताललाई संघमा ल्याएर थप सुधार गर्न र हिरासतमा रहेका नेविसंघका नेतालाई विनाशर्त रिहा गर्न माग गरेको छ ।नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर केसी ९रोशन०को अगुवाइमा समितिले दूतावासमार्फत ज्ञापन पत्र बुझाएको हो । सो कार्यक्रममा समितिका पूर्व सभापति तथा वर्तमान महासमिति सदस्य महेशकुमार श्रेष्ठ, पूर्वसभापति महासमिति सदस्य तथा वर्तमान सल्लाहकार बलराम श्रेष्ठ, पूर्वसभापति तथा वर्तमान महासमिति सदस्य नारायण सुवेदी, महासमिति प्रतिनिधि तथा उपसभापति राजेन्द्र जमरकट्टेल, खान्तो क्षेत्रिय सभापति एकेन्द्र थापा, सचिव लोकेन्द्र कुँवर र पूर्व खान्तो सदस्य श्यामहरी तिमिल्सेनाको सहभागिता रहेको थियो ।

समितिका सभापति केसीले कार्यक्रममा सहभागिहरुप्रति आभार प्रकट गर्नुका साथै विशेष कारणले सहभागिता जनाउन नसक्नु भएका पदाधिकारी तथा शुवेच्छुकहरुमा सम्मान व्यक्त गर्नुभएको छ ।