पर्वत/जलजलाको कालाञ्जर क्षेत्रमा आयोजित एकवर्षे श्रीमद्भागवत ज्ञान महायज्ञको आज समापन गरिने भएको छ । धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गर्ने उद्देश्यले जलजला गाउँपालिका–६ र मोदी गाउँपालिका–४ मा पर्ने हम्पालको धुरीस्थित कालाञ्जर क्षेत्रमा विगत एकबर्षदेखि महायज्ञ सञ्चालन गरिएको थियो ।
कालाञ्जरको प्रचार–प्रसार तथा धार्मिक महत्व विस्तारका लागि महायज्ञ आयोजना गरिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार गतवर्ष वैशाख २४ गतेदेखि सुरु भएको महायज्ञलाई यस वर्ष वैशाख १५ देखि ३० गतेसम्म १५ दिने वृहत समापन तथा पाठपरायण कार्यक्रम आयोजना गरिएको थियो । समुद्री सतहदेखि ३,३०८ मिटर उचाइमा अवस्थित कालाञ्जर क्षेत्रलाई ‘मृगसरोवर’ का रूपमा पनि चिनिन्छ ।
धार्मिक आस्थाका दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा राजा भरतले तपस्या गरेको मुक्तिनाथ पीठाधीश्वर श्वामी कमलनयन आचार्यले जानकारी दिनुभयो । ‘कालाञ्जरको नाम उच्चारण गर्दा मात्र पनि सिद्धि प्राप्त हुन्छ’ आचार्यले भन्नुभयो, ‘विभिन्न पुराणमा समेत यसको महिमा उल्लेख भएकाले स्थानीय तहमा यसको पहिचान विस्तार आवश्यक भएको उहाँले वताउनु भयो ।
महायज्ञ अन्तर्गत अष्टोत्तरशत (१०८) श्रीमद्भागवत पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महायज्ञ सुरु भएदेखि तीन जना पण्डित तथा तपस्वीले निरन्तर हवन र पाठपारायण गरिरहेका छन् भने समापन अवधिमा श्रद्धालु भक्तजनको सहभागितामा कार्यक्रमलाई थप व्यापक बनाइने आयोजकले जनाएको छ ।हायज्ञमार्फत सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि, धार्मिक पर्यटन प्रवद्र्धन र साधना केन्द्रको विकास गर्ने लक्ष्य राखिएको छ ।
महायज्ञमा कथा वाचन, १०८ श्रीमद्भागवत पाठपारायण, भजन–कीर्तन, यज्ञ–हवन, रुद्राभिषेक, पूजा–अर्चना लगायतका कार्यक्रम समावेश छन् । साथै, श्रद्धालुहरूले एक हजार १५५ रुपैयाँदेखि ५१ हजार ५५५ रुपैयाँसम्मको सहयोगमा पाठपारायण गराउन सक्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार महायज्ञ आर्थिक संकलनभन्दा बढी धार्मिक महत्व प्रवद्र्धनमा केन्द्रित छ । मुक्तिनाथ बाबा कमलनयनाचार्यको संकल्पमा आयोजना गरिएको महायज्ञमा प्रमुख वाचकका रूपमा उहाँकै अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनु भएको छ । यसअघि पनि कमलनयनाचार्यकै संकल्पमा बागलुङको पञ्चकोटमा ठूला धार्मिक संरचना निर्माण भई धार्मिक पर्यटन आकर्षित भइरहेको छ ।
हाल कालाञ्जर क्षेत्रसम्म सडक सञ्जाल पुगिसकेको छ भने अतिथिगृह निर्माण कार्यसमेत अघि बढिरहेको छ । यसले भविष्यमा कालाञ्जरलाई महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








