पर्वतका पत्रकारका लागि आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धी तालिम

पर्वत/पत्रकारितामा आर्टिफिसियल इनटेलीजेन्स (कृत्रिम बुद्धिमत्ता)को प्रयोग सम्वन्धि दुईदिने तालिम पर्वतमा सम्पन्न भएको छ । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोग तथा नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा तालिम संचालन गरिएको हो । तालिममा जिल्लामा क्रियाशिल २५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

दुइदिन सम्म चलेको तालिमको समापन गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले गर्नुभएको थियो । समापन सत्रमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव लम्सालले आजको युग सूचना प्रविधिको युग भएकोले नेपाली मिडिया पनि युग अनुकुल सञ्चालन हुन सक्नुपर्ने वताउनु भयो । उहाँले आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धमा प्रदेशले आगामी बर्ष सबै जिल्लामा अरु कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

सूचना प्रविधिको विकाससँगै समाचार संकलन, सम्पादन, विश्लेषण र प्रसारणका कामहरू अझ छिटो, प्रभावकारी र व्यवस्थित बनाउन कृत्रिम बुद्धिमत्ताको ठूलो भूमिका खेलेको छ । यसले समाचार संकलनमा सहजता, छिटो समाचार लेखन, तथ्य जाँच, भाषा अनुवाद र सम्पादन, डेटा पत्रकारिता, भिडियो, अडियो र फोटो सम्पादन, व्यक्तिगत सामग्री निर्माणमा सघाउ पुग्ने प्रशिक्षक जीवन भण्डारीले बताउनुभयो । पत्रकारिता क्षेत्रमा एआई एउटा शक्तिशाली सहायक प्रविधिको रुपमा विकास हुँदै गएको उहाँको भनाई छ ।

यसअघि तालिमको उद्घाटन गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले मुलुकका हरेक परिवर्तनहरुमा पत्रकारहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । चौथो अंगको रुपमा राज्यलाई सहि मार्गमा हिडाउनुका साथै आवाजबिहीनहरुको आबाज बनेर काम गरिरहेको बताउँदै सकारात्मक कुरामा प्रोत्साहन र नकारात्मक कुरामा खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । नगरप्रमुख तिवारीले पत्रकारिता र सञ्चार क्षेत्रकको संरक्षणका लागि तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समापन समारोहमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी र रेडियो सत्यवाणीका स्टेशन म्यानेजर हरि न्यौपानेले समेत आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष रञ्जना खत्री र संचालन सचिब साजन परियारले गर्नुभएको थियो ।