पर्वत/पर्वतको दुई सामुदायिक विद्यालय बिच विवाद चर्किदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ र वडा नं. ६ देविस्थानका दुई सामुदायिक विद्यालयबीचको विवाद चर्किँदा दुई दिनदेखि स्कुल बस सञ्चालन अवरुद्ध भएको हो । बस सेवा रोकिएसँगै दुवै विद्यालयका विद्यार्थीको नियमित पढाइ प्रभावित बनेको छ ।
देविस्थानका स्थानीयले भवानी विद्यापीठ माध्यमिक विद्यालयको बस सञ्चालनमा रोक लगाएका छन् । स्थानीयका अनुसार उक्त विद्यालयले जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न प्रलोभनमा पारेर भर्ना गरिरहेको आरोप छ । साथै भवानी विद्यापीठको बसले जनता माविको गेट नजिकैबाट विद्यार्थी उठाउने, अनावश्यक रूपमा हर्न बजाउने जस्ता गतिविधि गरेको भन्दै देविस्थानको बाटौ हुँदै बस संचालन गर्न नदिने अडान लिएका छन् ।
देविस्थानका वडा अध्यक्ष नवीन श्रेष्ठले विद्यार्थीलाई विभिन्न आश्वासन र सुविधाको प्रलोभन देखाएर भर्ना गर्ने तथा अर्को विद्यालयको परिसरमै पुगेर विद्यार्थी उठाउने कार्यले शैक्षिक वातावरणमा असर परेको भन्दै बस सञ्चालन रोक्नुपरेको बताउनु भयो । उहाँले समस्या समाधान नभएसम्म बस सञ्चालन गर्न नदिने अडान दोहो¥याउनु भयोे ।
यता भवानी विद्यापीठ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र नेपालीले आफूहरूले नियमअनुसार नै सेवा दिइरहेको दाबी गर्नुभयो । ‘विद्यार्थीलाई सहज यातायात उपलब्ध गराउनु विद्यालयको सेवा हो, कसैलाई जबर्जस्ती भर्ना गरिएको छैन,’ नेपालीले भन्नुभयो । जनता मावि व्यवस्थापन पक्षले पनि विद्यार्थी घट्ने अवस्था सिर्जना भएको र प्रतिस्पर्धाको नाममा अस्वस्थ गतिविधि बढेको आरोप लगाएको छ ।
विवाद बढ्दै गएपछि फलेवास नगरपालिकाले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । मंगलबार नगरपालिकामा भएको बैठकमा सहमति जुट्न नसकेपछि स्थिति थप तनावपूर्ण बनेको छ । देविस्थानका पूर्व वडा अध्यक्ष भोलानाथ भुसालले नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै शिक्षा क्षेत्रमा अभिभावकत्व कमजोर भएको टिप्पणी गर्नुभयो । बस सेवा अवरुद्ध हुँदा विशेष गरी टाढाबाट आउने विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय विद्यार्थी विद्यालय जानै नपाएको अभिभावकहरूले बताएका छन् ।
नगरपालिकाले भने समस्या समाधानका लागि पुनः छलफलको तयारी भइरहेको जनाएको छ । शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्दै विद्यार्थीको हितलाई केन्द्रमा राखेर सहमति खोजिने प्रयास भइरहेको बताउनु भयो । स्थानीय स्तरमै समाधान खोज्न नसके विवाद अझै चर्किन सक्ने देखिएको छ भने तत्काल समाधान ननिस्किए विद्यार्थीको शैक्षिक गतिविधिमा थप असर पर्ने चिन्ता बढेको छ ।






