निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा पर्वतबाट शुरु गरियो

पर्वत/निजामती किताबखाना अन्तर्गतको विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीमार्फत पर्वत जिल्लाबाट पहिलो पटक विद्युतीय पेन्सन सेवा प्रदान गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयको समन्वयमा पर्वतका निवृत्त कर्मचारी गोविन्द प्रसाद आचार्यलाई विद्युतीय पेन्सन सेवा प्रदान गर्दै यो सेवा बिहीवारदेखि शुरु गरिएको हो । यससँगै पर्वतका अवकाश प्राप्त कर्मचारीहरूले पेन्सन सम्बन्धी कामका लागि काठमाडौँ वा पोखरा धाउनुपर्ने वा प्रशासनिक झन्झट बेहोर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

जिल्लावाटै शुरु भएको यो सेवाबारे खुसी व्यक्त गर्दै कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका प्रमुख ज्ञान प्रसाद अर्यालले भन्नुभयो— “प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह गर्ने सरकारको लक्ष्य अनुसार पर्वतमा हामीले पहिलो पटक विद्युतीय पेन्सन सेवा सफल रूपमा कार्यान्वयनमा ल्याएका छौँ । यसले सेवाग्राहीको समय र खर्च बचत गर्नुका साथै प्रशासनिक झन्झटलाई समेत हटाएको छ । अब अवकाशप्राप्त कर्मचारीहरूले आफ्नै पायक पर्ने ठाउँबाट सेवा लिन सक्नेछन्, जुन हाम्रो लागि ठुलो उपलब्धि हो । विभागले विद्युतीय पेन्सन सेवा व्यवस्थापन प्रणालीको सफल अभ्यास गर्ने जिल्लाहरूको सूचीमा पर्वतलाई समेत दर्ता गराउन सफल भएकोमा कोलेनिका पर्वतका प्रमुख अर्याल र उहाँको टोलीप्रति आभार प्रकट गरेको छ ।

विभागका महानिर्देशकले सामाजिक सञ्जालमार्फत “हाम्रो ई–सेवालाई प्रवद्र्धन गरौँ” भन्दै लाभग्राहीलाई अवकाशपछिका सबै सेवा सुविधाहरू निजकै घर वा कार्यालयमा पुर्‍याउने सरकारको प्रयास सफल भएकोमा खुसी व्यक्त गर्नुभएको छ । पछिल्लो समय सरकारी सेवालाई डिजिटल माध्यममार्फत सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले यो सेवा विस्तार गरिएको हो, जसले गर्दा अब ज्येष्ठ नागरिक तथा निवृत्त कर्मचारीहरूले आफ्नै जिल्लाबाट सहजै सेवा प्राप्त गर्नेछन् ।