डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पर्वत/सामाजिक तथा राजनीतिक व्यक्तित्व स्वर्गीय डिल्लीराम लामिछानेको नाममा स्थापना भएको डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदीबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरि त्यहाँस्थित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङले स्व. डिल्लीराम लामिछाने निष्ठा, त्याग र आदर्शको प्रतीक भएको उल्लेख गर्दै आजको राजनीतिमा त्यस्ता व्यक्तित्वको अभाव महसुस भइरहेको बताइन् । उनले सामाजिक सेवामार्फत उहाँका मूल्य र आदर्शलाई जीवित राख्न प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको भनाइ राखिन् ।

कार्यक्रममा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालकी प्रमुख संरक्षक एवम् स्वर्गिय लामिछानेकी धर्मपत्नी सिता काफ्ले लामिछाने लगायतले बोलेका थिए ।

कार्यक्रम डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष हिरामणी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य मोदिबेणी दिब्यधामका अध्यक्ष केशवदास बैरागी र सञ्चालन प्रतिष्ठानका सचिव सुरेन्द्र केसीले गरेका थिए ।

२०२५ साल असोज ३ गते पर्वतको कटुवाचौपारीमा जन्मेका समाजसेवी तथा राजनीतिक ब्यक्तित्व स्वर्गिय लामिछानेको क्यान्सर रोगका कारण ४७ बर्षको उमेरमा गत २०७२ साल पौष १२ गते निधन भएको थियो ।