पर्वत / पछिल्ला केही दिनयता बिरामीहरूको चाप बढ्दै गएपछि प्रदेश अस्पताल पर्वतमा बिरामीहरूलाई आकस्मिक कक्षमै राखेर उपचार गर्नुपर्ने भएको छ।
उपचारमा आएका बिरामीहरूलाई भर्ना गरेर राख्नुपर्दा बहिरङ्ग विभागका विभिन्न ‘वार्ड’ मा भर्ना गरेर उपचार गर्ने गरिएको छ।
तर पछिल्ला केही दिनयता ‘जनरल वार्ड’ का शय्याहरू बिरामीले भरिएपछि भर्ना गरेर राख्नुपर्ने बिरामीहरूलाई समेत आकस्मिक उपचारका लागि छुट्टाइएका शय्याहरूमा भर्ना गरेर राख्नुपरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार पछिल्ला केही दिनमा दैनिक तीन सय ५० जना भन्दा बढी बिरामीहरूको ‘ओपिडी’ र ‘इमर्जेन्सी’ कक्षमा उपचार गरिएको छ। सबैभन्दा बढी एकै दिनमा तीन सय ९६ जनासम्मले स्वास्थ्य लाभ लिएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।
अस्पतालसँग हाल १५ शय्या सञ्चालनको अनुमति छ। गण्डकी प्रदेश सरकारले प्रदेशका जिल्ला अस्पतालहरूलाई स्तरोन्नति गरेर ५० शय्या क्षमतामा सञ्चालनको लागि अनुमति प्रदान गर्दै छ। तर पनि प्रदेश अस्पताल पर्वतमा भने ६४ शय्या सञ्चालन गरेर सेवा सञ्चालन भइरहेको छ। अस्पतालमा रहेको कम जनशक्तिलाई परिचालन गरेर बिहान सात बजेदेखि साँझ सात बजेसम्म नै बहिरङ्ग सेवा प्रदान गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने प्रयास जारी नै छ।
कम जनशक्तिले पूर्ण क्षमतामा काम गर्दा पनि बिरामीहरूको चाप धेरै भएपछि शय्या अभाव हुँदा भर्ना गर्नुपर्ने बिरामीहरूलाई आकस्मिक उपचार कक्षमा नै राखेर सेवा दिनुपर्ने बाध्यता भएको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए। ‘यो बेलामा बिरामीहरूको चाप निकै बढेको छ। विभिन्न विभागका जनरल वार्डमा रहेका शय्याहरू भरिएपछि आकस्मिक कक्षमै राखेर उपचार चलाइरहेका छौँ। अहिले पनि ओपिडीका तीन जना बिरामीहरू इमर्जेन्सीमै हुनुहुन्छ’, उनले भने, ‘भर्ना गरेर राख्ने गरी ओपिडीमा रहेका २६ वटै शय्याहरू भरिएका छन्। गर्मी समय सकिएर चिसो सुरु भइसकेको छ, यो बेलामा बिरामीको सङ्ख्या वृद्धि हुन्छ नै। त्यसबाहेक प्रदेश अस्पताल पर्वतमा भइरहेको उपचारको विश्वासका कारण पनि बिरामीहरूको चाप बढेको हो भन्ने लागेको छ।’
बहिरङ्गका बिरामीले नै आकस्मिक उपचारका शय्या भरिएपछि आकस्मिक उपचारका बिरामीहरू आएको अवस्थामा बहिरङ्गका बिरामीहरूलाई सार्ने शय्याको अभाव छ। त्यस्तो अवस्थामा आकस्मिक कक्षमा बसेर उपचार सेवा लिइरहेका बिरामीहरूलाई भुईँमा नै राखेर भए पनि आकस्मिक अवस्थाका बिरामीहरूलाई सेवा दिनुपर्ने बाध्यता भएको छ।
अस्पतालका चिकित्सक डा. एनिस श्रेष्ठले एकै दिनमा १८ जनासम्म बालबालिकाहरूलाई भर्ना गरेर उपचार गरिएको बताए। उनीहरूमा मुख्य गरी ज्वरो, रुघा, खोकी, बान्ता लगायतका समस्याहरू देखिएका छन्। यस्तै प्रौढ उमेरका व्यक्तिहरूमा दम तथा श्वासप्रश्वासका समस्या, ज्वरो सहित अरिङ्गाल र सर्पले डसेका बिरामीहरू पनि रहेका उनको भनाइ छ। प्रसूति कक्षमा हाल दुई जना मात्रै सुत्केरीहरू रहेको भए पनि अन्य उपचार कक्षहरूमा भने बिरामीहरूको चाप बढ्दै गइरहेको डा. एनिसले बताए।
अस्पतालको आकस्मिक उपचार कक्षमा मात्रै दैनिक करिब ४० जनाले सेवा लिइरहेका छन्। आकस्मिक कक्षमा आउनेहरूमा ज्वरो, दम सहितका श्वासप्रश्वास, झाडापखाला, बान्ता र केही सवारी दुर्घटनाका घाइतेहरू समेत आएका छन्। आकस्मिक उपचार कक्षमा कार्यरत ‘नर्स’ हरूले विगतको तुलनामा करिब तीन गुणासम्म बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको बताएका छन्।






