पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा

पर्वत/कुनै समय ग्रामीण गाउँबस्तीमा उज्यालोको सहारा बनेका पर्वतका ११ लघु जलविद्युत आयोजनाहरु बर्षौदेखि अलपत्र अवस्थामा छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका ती जलविद्युत् आयोजनावारे नत स्थानीय नागरिक नत राज्यका निकाय कसैलाई कुनै चासो छैन ।

साढे दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । सातवर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भएपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती आयोजना पनि अलपत्र अवस्थामा छन् । पछिल्ला केही वर्ष यता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका वडाहरुमा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको छ ।

दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला जलविद्युत आयोजना, पाङराङको साढे सात किलोवाट क्षमताको गढीसिद्ध जलविद्युत आयोजना र ११ किलोवाट क्षमताको बाच्छाखोला जलविद्युत आयोजना, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला जलविद्युत आयोजना, भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट जलविद्युत आयोजना, क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत आयोजना पूर्णरुपमा बन्द भएका छन् । त्यस्तै बाच्छाखोलामा रहेका १९ किलोवाट र २१ किलोवाट क्षमताको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि केहीबर्षयता पूर्ण रुपमा बन्द भएको छ ।

पर्वतको मोदी गाउँपालिका—१ भुकताङ्गमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि पाँच वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ । उता महाशिला गाउँपालिका—२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि केही वर्षअघि गाउँमा केन्द्रीय प्रशारण लाइन विस्तार भएपछि त्यत्तिकै अलपत्र बनेका छन् । मर्मतको अभाव र कम क्षमता हुने भएकाले पनि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । नेपाली काँग्रेस पर्वतका सहसचिव तिलक भुसालका अनुसार मर्मतका लागि बजेट समेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् ।

गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको भुसालको दावी छ । पछिल्लो समय स्थानीय तहहरुले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका सामाजिक अगुवा भीमबहादुर खड्काले बताए । २५ वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ रुपैयाँ तिरे पुग्थ्यो, केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भएपनि व्यवस्थापनको कमीसँगै ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्दै गएकोे खड्काको भनाइ छ ।

जिल्लाका ११ वटा लघुजलविद्युत् आयोजनाबाट एकसय ५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार चारसय तीन घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । विसं २०५५ देखि सञ्चालनमा रहेका यी आयोजनाहरु अहिले भग्नावशेष बनेका छन् । एघार ओटा आयोजनाको लागि दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रशारण लाइन विस्तारभएसँगै उपभोक्ताको बेवास्ता र मर्मत अभावले वेवारिसे अवस्थामा पुगेको यहाँका सरोकारवालाहरुको तर्क छ ।