शिवालय कुश्मा खानेपानी तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न

पर्वत/सदरमुकाम कुश्मामा संचालित शिवालय खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दैै कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुश्माबासीलाई पर्याप्त मात्रामा स्वच्छ पानी वितरण गर्दै आएको संस्थालाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । खानेपानीका श्रोतहरु सुक्दै जाने, जनसंख्या थपिदै जाने क्रम बढेको भन्दै नगरप्रमुख जोशीले नयाँ स्रोतहरुको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनका लागि नगरपालिकाले समेत आवश्यक पहल गरिरहेको बताउँदै ठुला योजनामा संघ र प्रदेशवाट समेत बजेट माग गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमालेका अध्यक्ष गोबिन्द पहाडी, माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेल, राप्रपाका प्रतिनिधि समुन्द्र गिरी, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय पोखराका प्रमुख कुलप्रसाद पौडेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतले बोल्नुभएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष रबिकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा संस्थाले गरेका कार्यक्रमहरु र आगामी योजनाका बारेमा बोल्नुभएको थियो । उहाँले आगामी आर्थिक वर्षदेखि बृहद कुश्मा खानेपानी आयोजना संचालनका लागि संघीय सरकारवाट रु. तीन करोड रुपैया बजेट बिनीयोजन भएको जानकारी दिनुभयो । उक्त योजना सम्पन्न भएपछि कुश्माबजारवासीलाई चौविसै घण्टा पानी वितरण गर्न सकिने भएको छ । उक्त योजनामा रति खोला र जहरेखोलावाट पानी ल्याईने भएको छ ।

शिवालय कुश्मा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष तुप्ला शाक्य, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गणेश बहादुर भण्डारी र संचालन सचिब कमलनाथ शर्माले गर्नुभएको थियो । कार्यक्रममा लेखा संयोजक अर्जुनप्रसाद चापागाईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थालाई विभिन्न क्षेत्रवाट सहयोग पुर्‍याउनेहरु, पुव अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको थियो ।