मापदण्डविपरीत आयोजना : खोलै सुकाएर बिजुली उत्पादन

 

मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना गरी चारवटा आयोजना छन् । जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा नगरपालिकामा एउटा आयोजना सञ्चालनमा छन् । नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा १० प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी प्रावधान छ । तर यसको व्यावहारिक कार्यान्वयन देखिन्न ।

मोदी खोलामा २०५७ मा पहिलोपटक सञ्चालित आयोजना मोदीखोला जलविद्युत् केन्द्र हो । यसको पानीको ड्याम जलाशय बेतेनीमा अवस्थित छ भने विद्युतगृह चाहिँ पातिचौरमा । मध्यमोदी हाइड्रोको पानीको ड्याम जलाशय वीरेठाँटी र विद्युतगृह बेतेनीमा छ । यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय पातिचौरमा र विद्युतगृह चाहिँ कुश्माको परादीमा अवस्थित छ ।

कुश्मा नगरपालिकाको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय परादीमा बाँधिएको छ । यसको जलविद्युत गृह भने चुवाको सुइटेबौरमा निर्माण गरिएको छ । चारवटै जलविद्युत गृह लहरै अवस्था छन् । एउटा जलविद्युत् गृहको पानीको ड्याम जलाशयबाट छाडिएको पानी खोलामा बग्न नपाउँदै अर्को जलविद्युत् गृहको ड्याममा मिसिन पुग्छ । यसले गर्दा पनि मोदीखोलामा पानीको संकट उत्पन्न भएको छ ।