चट्याङ लागेर मोदी गाउँपालिकामा दुईजनाको मृत्यु

पर्वत/जिल्लाको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं। १ भुकताङ्लेमा एक महिला र वडा नं। ७ राम्जादेउरालीमा एक शिक्षकको ज्यान गएको हो । घरको पिढिमा बसिरहेको बेला ५८ वर्षिया प्रेम कुमारी शाहि र राम्जादेउराली स्थित स्थानीय जीवनज्योती प्राविका बहालवाला शिक्षक ५७ वर्षिय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिवार साँझ साढे ६ बजेको समयमा आफ्नै घरको पिढिमा चट्याङ लागेर अचेत बनेका तिमिल्सनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । हावाहुरी, र वर्षा भैरहेका बेला तिमिल्सिना भैसी दुहुनका लागि गोठमा जान पिढिमा निस्किदा एक्कासी चट्याङ लागेको थियो । मृतक तिमिल्सिानाका चार छोरी, दुई छोरा र श्रीमती रहेका छन् ।

त्यसैगरी चट्याङ लागेर घाईते भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पुर्‍याईएकी शाहीलाई पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाशदिप केसीले जानकारी दिए । प्रहरीको टोली अहिले दुवै घटना स्थलमा मुचुल्काको लागि पुगेको र थप विवरण पछि आउने उनले बताए ।

शनिवार साँझ परेको वर्षासँगैको असिनाले पनि पर्वतको मोदी गाउँपालिकामा ठुलो नोक्सानी पुर्‍याएको छ । सुन्तलाको पकेट क्षेत्र रहेको वडा नं। २ देउपुरमा भर्खरै फल लाग्न थालेको सुन्तला झारेर नष्ट गरिदिएको स्थानीय प्रकाश चापागाईले जानकारी दिए ।