२५ भदौ, लिवाङ । नेपाल तरुण दलले सोमबार रोल्पा जिल्ला बन्द आह्वान गरेको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरोधमा जिल्ला बन्द गरिएको हो ।
बन्दका कारण बिहानैदेखि रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग बन्द भएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । रोल्पा नगरपालिका तरुण दलका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको छ । रोल्पाको सुलिचौरमा पाण्डेश्वरी यातायात प्रालिको उद्घाटन गर्न पुगेका उनको गोली हानी हत्या गरिएको थियो ।
उनलाई देवबहादुर घर्तीले गोली हानेका थिए । गोली हानेपछि देवले प्रहरीसँग आत्मसमर्पण गरेका छन् । देव नेकपा निकट रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले घटनाको पुष्टि गर्दै गोली हान्ने व्यक्ति प्रहरी नियन्त्रणमा रहेको बताए । प्रहरीका अनुसार रोहितलाई सुलिचौरमा रहेको एक रेष्टुरेन्टमा गोली हानिएको थियो ।
घाइते अवस्थामा रहेका उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।
यसैबीच कांग्रेसले घटनाको विरोध गर्दै दोषीलाइ कारवाहीको माग गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्ण पाैडेलले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । यस्तो छ कांग्रेसले जारी गरेको विज्ञप्ति
प्रेस विज्ञप्ति
रोल्पा जिल्ला लिवाङ्ग नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष रोहित पुनलाई सुनिल स्मृति गाउँपालिकामा अवस्थित सुनिलचौरमा आज अपरान्ह ४ः४० बजे तत्कालिन नेकपा (माओवादी केन्द्र) का देवबहादुर घर्ती मगर लगायतले गोली हानी हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अपराधिक क्रियाकलापको नेपाली कांग्रेस घोर भत्र्सना र निन्दा गर्दछ ।
साथै, इलाका प्रहरी कार्यालय सुलिचौरबाट घटनास्थल १५ मिटरको दुरीमा रहेको र हत्याराले गोली हान्दा प्रहरी मुकदर्शक भई बस्नु र तत्कालै हत्यारालाई पक्राउ गर्न तदारुकता नदेखाउनु अत्यन्त गम्भीर र दुःखद छ । यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।
हत्या गरिएका रोहित पुनप्रति नेपाली कांग्रेस श्रद्धाञ्जली व्यक्त गर्दछ र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव






