पर्वत/प्रजातन्त्र सेनानी तथा लोक संस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको नाममा स्थापना भएको कालीभक्त पन्त लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार २०७६ दसकौंदेखि नेपाली लोकसाहित्य तथा संस्कृति जगेर्नाका लागि इन्द्रेणी कार्यक्रम मार्फत निरन्तर लागि परेका कलाकार कृष्ण कँडेललाई प्रदान गरिएको छ ।
कालीभक्त-कृष्णा पन्त स्मृति प्रतिष्ठानको २८ औं बार्षिकोत्सका अवसरमा मंगलवार पर्वतको फलेवासमा आयोजना गरिएको कार्यक्रममा कंडेललाई एकलाख एकहजारको लोकसाहित्य पुरस्कार प्रदान गरिएको हो । साथै समाजेवामा सक्रिय रहँदै आउनुभएकी मानकुमारी गिरी र पदमबहादुर श्रेष्ठलाई पाँचहजार र सम्मनपत्र सहित सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार काजी रोशन र कालीभक्त पन्तका छोरा गोविन्द पन्तले संयुक्त रुपमा पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा ‘कालीभक्त पन्त प्रजातन्त्रका सेनानी तथा लोकसंस्कृतिका अग्रदुत ‘ नामक समृतिग्रन्थको लोकार्पण समेत गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै बरिष्ठ साहित्यकार काजी रोशनले कालीभक्त पन्त नेपाली साहित्यका अग्रपुरुष भएको वताउँदै फलेवास नगरपालिकाले कालीभक्त पन्तको शालिक निर्माण गरि उहाँको स्मृतिमा हरेकबर्ष कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले कालीभक्त पन्त नेपाली साहित्यको क्षेत्रमा स्थापित नाम भएको वताउँदै उहाँको जिल्लाबासी भएर परिचय दिन पाउँदा आफूलाई सँधै गर्वको अनुभूति हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङ, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, नेकपाका प्रतिनिधि मेघनाथ सुवेदी, सम्मानित व्यक्तित्व कृष्ण कँडेल, मानकुमारी गिरी, गजवकुमारी पन्त तिमिल्सना, खिलप्रसाद पौडेल, विश्वनाथ रेग्मी, गोविन्द पन्त र शोभाभक्त पन्त लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पुरस्कृत व्यक्तित्व कृष्ण कंडेलको परिचय महेश्वर पन्त र मानकुमारी गिरीको परिचय दुर्गा पाण्डे पन्तले प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा लिमिठाना मावि र शारदा माविमा अध्ययन गर्ने एक/एकजना छात्रछात्रालाई जनही आठहजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रा।डा। पार्थिवेश्वर तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सदस्य सुभाष पन्तले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार शान्तिनारायण श्रेष्ठ, सुन्दरप्रसाद जोशी, कुलप्रसाद उपाध्याय, युगनाथ गौंडेल र सुदर्शन सिलवालले आफूहरूद्वारा प्रकाशित कृृृृतिहरू प्रतिष्ठानलाई हस्तान्तरण गर्नु भएको थियो । हरेकबर्ष एक लाख एक हजार राशीसहित ताम्रपत्रद्वारा पुरस्कृत गरिने यस पुरस्कार गत वर्ष शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । नेपाली लोकसाहित्यका अनुसन्धानदाता कालीभक्त पन्तका नाममा स्थापित उक्त पुरस्कारका योजनाकार अमेरिका बोस्टन निवासी महेश्वर पन्त हुन् भने उनी लगायत गोविन्द पन्त तथा ऊर्मिला पन्त, पर्मेश्वर पन्त, अन्जु पन्त रावल एवं परिवार यस पुरस्कारका संस्थापक रहेका छन् ।






