पर्वत/नेपालका धेरै जिल्लामा हात्तिपाइले रोग बिरुद्धको अभियान सफल भैसकेपनि पर्वतमा भने अझैपनि हात्तिपाईले रोगको उच्च जोखिममा रहेको पाइएको छ । पर्वतमा सन् २०१० देखि नियमित रुपमा १० पटक आमरुपमा औषधी खुवाउने कार्यक्रम सकिएपनि जिल्लामा हात्तीपाइले रोगको उच्च जोखिम कायमै रहेको पाइएको हो । हात्तीपाइले रोग निवारण अभियान कार्यक्रम २०७६लाई प्रभावकारी बनाउन कुश्मा नगरपालिकाको नगर स्वास्थ्य शाखाले नगरपालिका भित्रका १४ वटै वडामा हात्तिपाईले रोगविरूद्धको अभियान सुरु गरेको छ ।
वडा नं ४ को वडा कार्यालयमा आइतवार आयोजित अन्तरक्रिया कार्यक्रममा कुश्मा नगरपालिका स्वास्थ्य शाखा अधिकृत यमप्रसाद शर्माले यो अभियानलाई सार्थक बनाउन सबै वडाबासीहरूमा आग्रह गर्नुभएको थियो । शर्माले यसपालि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा यो औषधि खुवाउने जानकारी दिनुभयो । २ बर्ष भन्दा कम उमेरका तथा गर्भवती महिला छाडेर जिल्लाको कुल जनसंख्या मध्ये १ लाख ५ हजार ५ सय १६ जनालाई औषधी सेवन गराउने अभियानको लक्ष्य रहेको शर्माले जानकारी दिनुभयो । अभियानका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी र स्वयंसेविकालाई परिचालन गर्ने तयारी भएको छ ।
स्वास्थ्यकर्मीले घरमै पुगेर आँखा अगाडी औषधी खुवाउने र स्वयमसेविकाले सहयोग गर्ने कार्यक्रम छ । घरमा लैजादा औषधी नखाने, जाने बुझेकाले समेत औषधी खान नमान्दा सबैले पटकपटक औषधी खानुपर्ने बाध्यता छ । यस पटक सबैजनाले औषधी खाने कार्यक्रम सफल बनाउन सकेमा आगामी बर्ष देखि औषधी सेवन गर्नु नपर्ने भएका कारणपनि सबैले औषधी खान र त्यसले कुनै हानी तथा असर नपुर्याउने हुँदा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । अभियान माघ २५ गते जिल्लाभर संचालन हुँदैछ ।
कुश्मा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मिना कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा नं ४ का वडा सदस्यहरू, वडाभित्रका विद्यालयका प्रधानाध्यापकहरु र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
पर्वतमा अझैपनि हात्तिपाईले रोगको संक्रमण भएका २ दशमलब ९५ प्रतिशत जनसंख्या रहेकाले ११ औं पटक अभियान संचालन गर्नुपरेको कार्यालय प्रमुख डा. भोजराज गौतमले बताउनुभयो । सन २०१८ मा पर्वतका खानीगाउँ र पाङ्गमा गरिएको नमुना परिक्षणका क्रममा खानीगाउँमा ० दशमलब ६७ र पाङ्गमा २ दशमलब ९५ प्रतिशत ब्यक्तिमा हात्तीपाइलेको जीबाणु भेटिएको थियो ।
यी वडाहरुमा सन २००१ मा गरिएको बेसलाईन सर्बेक्षणमा ४ दशमलब ८३ प्रतिशतमा हात्तीपाईलेको जीबाणु भेटिएको थियो । त्यसयता खानीगाउँमा घटेपनि पाङ्गमा भने समस्या देखिदै आएको छ । पर्वतमा औषधी घरमा लैजाने तर सेवन नगर्ने परम्परा रहेका कारण हात्तीपाइले रोग निवारण प्रभावकारी हुन नसकेको स्वास्थ्य कार्यालय पर्वतको दावी छ ।






