पर्वत/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले पर्वत काँग्रेसलाई एक ढिक्का बनाएर मात्र आफूले सक्रिय राजनीतिबाट विश्राम लिने वताउनु भएको छ । नेता जोशीले नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र क पर्वतको स्थानीय तह समायोजन कार्यक्रमलाई आज कुश्मामा सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो । उहाँले काँग्रेस पार्टी बलियो हुन पार्टी भित्रका गुट उपगुट अन्त्य हुनुपर्नेमा जोड दिदै काँग्रेस एकताबद्ध भएर अगाडी बढेमा राज्यको कुनै पनि शक्तिले काँग्रेसलाई परास्त गर्न नसक्ने दाबी गर्नुभयो ।
नेता जोशीले आफु पार्टिमा लामो समयसम्म विना स्वार्थ लागेको बताउँदै आगामी दिनमा पनि कुनै पद नलिने र अरु नयाँ पुस्तालाई अगाडी सार्न जुनसुकै कुर्वानी गर्न पनि तयार रहेको बताउनुभयो । जोशीले पार्टि भित्रका विकृत पक्षको बारेमा बढि समय आफ्ना भनाई खर्च गर्नुभयो भने कार्यकर्ता र नेतामा इमान्दारिता आवश्यक रहेको बताउनुभयो । बिपी स्मृति भवन निर्माण समिति पर्वतका संयोजक समेत रहेका जोशीले काँग्रेस पर्वतको पार्टी भवन निर्माणले कार्यकर्तामा उत्साह थपेको बताउँदै भवन निर्माणमा सक्दो सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुसालले पार्टीको टिकट पाएर चुनाव जितेका जनप्रतिनिधिहरूले भोलि पार्टीको अर्को साथी टिकट लिएर आउदा चुनाव जित्ने वातावरण बनाउन सुझाव दिनुभएको थियो । सभापति भुसालले जनप्रतिनिधिहरूले काम गर्दा काँग्रेसका कार्यकर्ताहरूको मनोबल बढ्नैगरि काम गर्न निर्देशन दिनुभएको थियो । भुसालले संगठन जीवित राख्न पार्टीभित्रका सबै नेता तथा कार्यकर्तामा संगठनप्रतिको अनुशासन र एकअर्काप्रति भावनात्मक एकताको आवस्यकता रहेको कुरामा जोड दिनुभएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सभापति नवराज गुरुङले कम्युनिष्टहरूले दुई तिहाइको दम्भ देखाएर देश र जनतामाथि अत्याचार गरिरहेको बेला काँग्रेसभित्रको आन्तरिक एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । नेता गुरुङले कम्युनिष्टहरूको दम्भ र अहंकारका कारण मंसीरमा हुने उप निर्बाचनमा काँग्रेसका पक्षमा राम्रो माहोल बन्दै गएको वताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष तथा जलजला गाउँ पालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विगतमा भोगेको नमिठो पराजयको समीक्षा गरेर आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन नयाँ कार्ययोजना सहित अघि बढ्नुपर्ने धारणा राख्नु भएको थियो । कोषाध्यक्ष मल्लले पार्टीभित्रको अन्तरविरोधलाई हटाएर एकतावद्ध ढंगले अगाडि बढ्ने वातावरण निर्माण गर्न नेतृत्वलाई सुझाव दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले पार्टी नेतृत्व निकै कमजोर अवस्थामा पुगेको वताउँदै समायोजन पछिको पार्टी नेतृत्वले संगठनलाई चुस्त बनाउने विश्वास व्यक्त गर्नुभएको थियो । नगर प्रमुख जोशीले नेतृत्वको आलोचना मात्रै नभएर सुझाव दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि विद्वान गुरूङले नेपाली काँग्रेस भित्र एकताको आवश्यकता रहेको बताउनुभएको थियो । गुरूङले वर्तमान सरकारले आफै अपराधीहरुलाई संरक्षण गरेको आरोप लगाउनु भएको थियो । केन्द्रीय कोषाध्यक्ष गुरुङले उप निर्बाचनमा काँग्रेसका उम्मेदवारलाई सहयोग पुग्नेगरि प्रचारात्मक अभियानमा लाग्न सबै नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्नु भएको थियो ।
सोही कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तबहादुर सिके, महासमिति सदस्य गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधि एवं कुश्मा नगरपालिका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर खत्री, मोदी गाउँपालिकाका संयोजक जीवनाथ तिमिल्सिना र नेपाल तरूण दलका जिल्ला अध्यक्ष राज मल्ल तोरण लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका प्रतिनिधि हरिनारायण रेग्मीले पार्टीको संगठन समायोजनका बिषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टी संगठनमा आवद्ध नेता तथा कार्यकर्ताहरूको अनुशासन नभएको गुनासो गरेका थिए ।
नेपाली काँग्रेस प्रदेश क का कार्यवाहक सभापति कृष्णप्रसाद लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस कुश्मा नगर कार्यसमितिका सचिव सुरेन्द्र केसीले गर्नुभएको थियो भने स्वागत मन्तब्य प्रदेश क का कोषाध्यक्ष रमेशबम मल्लले गर्नुभएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र क अन्तरगत कुश्मा नगरपालिका, जलजला गाउँ पालिका र मोदी गाउँपालिका पर्दछन् ।






