जिल्लाका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत/जिल्लाका दुर्गम भेगमा लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । दुई दशक अघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना अहिले बन्द भएका छन् । जिल्लाका ११ लघु जलविद्युत आयोजनाका उपकरणहरु व्यवारिसे बनेका छन् । विगत चार वर्ष सम्म तीन वटा मात्र आयोजना सञ्चालनमा रहेकामा अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती पनि बन्द भएका छन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार भएको थियो ।

दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्ले गाविसमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बन्द छन् । विहादीको बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजनाले पनि उत्पादन गर्न छाडेका छन् ।

यस्तै मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र छ भने महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मत अभाव र थोरै क्षमताका भएकाले स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन् ।