पर्वत/जिल्लाको कुश्मा नगरपालिका–८ परादीमा गण्डकी प्रदेशकै दोस्रो ‘प्लाई’ उद्योग सञ्चालन भएको छ । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा घर भएका शिव शर्मा अधिकारीले १६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘बिन्दबासिनी भेनियर उद्योग’ लाई ‘प्लाइ’ उत्पादन गर्ने उद्योगको रूपमा सञ्चालन गरेपछि करिव ३ सय जनाले रोजगारी पाएका छन् ।

सामान्यतः पहाडी क्षेत्रमा ‘प्लाई’ उद्योगहरू कमै मात्रामा सञ्चालन हुने गरेका छन् । त्यसमा पनि कम जनघनत्व हुने क्षेत्रहरूमा उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण हुने भए पनि अधिकारीले जिल्लावासीले पाउने रोजगारी र ढुवानी बचतका लागि उद्योग सञ्चालन गरेका हुन्। परादीमामा रहेको ‘भेनियर’ उद्योगमा तयार हुँदै आएको ‘प्लाई’ को कच्चा पदार्थलाई अधिकारीले नै कपिलवस्तुको बहादुरगञ्जमा सञ्चालन गर्दै आएको ‘अकला प्लाई उद्योग’ मा लगेर ‘प्लाई’ बनाउने गरिएको थियो । त्यहाँ उत्पादित ‘प्लाई’ पुन गण्डकी प्रदेशमा आएर बिक्री हुने गरेको थियो ।
पर्वतबाट गएको कच्चा पदार्थबाट कपिलवस्तुमा ‘प्लाई’ बनेर पुनः गण्डकी प्रदेशमा ल्याएर बिक्री गर्दा ढुवानी लागत समेत बढी भएपछि अधिकारीले बहादुरगञ्जको ‘प्लाई’ उद्योगलाई परादीमा सारेका हुन् । करिब १० करोड रुपैयाँको लागतमा बनेकोे ‘प्लाई’ उद्योगमा करिब तीन सय जनाले रोजगारीको अवसर पाएका छन् । आफ्नै जन्मभूमिबाट उद्योग चलाउँदा जिल्लावासीले नै रोजगारीको अवसर पाउने र ग्रामीण क्षेत्रमा कुहिने अवस्थामा रहेका कुकाठले बजार पाउने सञ्चालक अधिकारीले बताए ।
‘बेरोजगारी र बसाईसराईँको समस्या बढ्दै गइरहेको बेलामा आफ्नै जिल्लावासीहरूले रोजगारीको अवसर पाउन भनेर उहाँको उद्योगलाई यहाँ सारिएको हो । कच्चा पदार्थको ढुवानीको हिसाबले पनि यहाँ सहज हुने भएको छ,’ उनले भने, ‘पहाडी क्षेत्रमा उद्योगको विकासको लागि पनि यसले बल पुग्छ। यहाँ सञ्चालनमा रहेको भेनियर उद्योगमा अहिले पनि धेरै जनाले रोजगारी पाइरहेको अवस्था छ। अब प्लाई नै उद्योग समेत यहीँबाट चल्ने भएपछि करिब तीन सय जनाले रोजगारीको अवसर पाएका छन् ।’
कपिलवस्तुबाट उत्पादन भएको अधिकांश ‘प्लाई’ अहिले पनि गण्डकी प्रदेशमै खपत हुने गरेको र अब पर्वतबाट उत्पादन हुने ‘प्लाई’ पनि सोही बजारमा निर्यात हुने अधिकारीले बताए । साबिकको धौलागिरि सहित दाङ, नेपालगन्ज, रुकुम, रोल्पा, सल्यान, बुटवल, पोखरा, लमजुङ, लगायतका जिल्लामा निर्यात हुने गरेकोमा अब पनि सोही जिल्लाहरूमा निर्यात हुने छ । अहिलेसम्म पर्वतमा उत्पादित ‘भेनियर’ लाई कपिलवस्तुमा लगेर प्लाई बनाएर फेरि यतैको क्षेत्रमा ल्याएर बिक्री गरिन्थ्यो । अब भने उत्पादन नै पर्वतबाट भएपछि कच्चा पदार्थको ढुवानीमा लाग्दै आएको खर्च कटौती भएको छ । जसले कम्पनीको मुनाफा बढ्ने र ग्राहकले पाउने दरमा केही सस्तो पर्ने छ।
गण्डकी प्रदेशमा यस अगाडि तनहुँको दमौलीमा ‘प्लाई’ उद्योग रहेको र पर्वतमा सञ्चालनमा आएपछि दोस्रो उद्योग बनेको अधिकारीले बताए । तर नेपालको वर्तमान अवस्था, आर्थिक चुनौती र बैङ्कबाट हुने लगानीको अवस्था हेर्दा उद्योग सञ्चालन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । त्यसमा पनि नेपालको वन ऐनले उद्योग र नागरिक दुवै पक्षलाई समस्यामा पार्दा वनमा काठ कुहिने तर उद्योगले सामग्री नपाउने अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे ।
‘नेपालको वन ऐन जटिल रहँदा ढलेर कुहिएका रुखहरू खरिद गर्न समेत समस्या हुने गरेको छ । आफ्नो जग्गामा भएका उत्तिस लगायतका काठहरू बिक्री गर्न पनि नागरिकले धेरै चुनौती र खरिदकर्ताले पनि चुनौती भोग्नुपरेका कारण पनि कति काठ र कुकाठ खेर गइरहेको अवस्था छ’, अधिकारी भन्छन्, ‘यसलाई खेर जान नदिने हो भने कृषकले कति आम्दानी गर्न सक्ने मौका छ। गण्डकी प्रदेश सरकारले वन ऐनलाई सहज बनाउँदै काठलाई ताजा तरकारी सरह लिने भनेको भए पनि त्यो अवस्था सहज बनिसकेको छैन।’
सञ्चालक अधिकारीले भने जस्तै उद्योग सञ्चालन आउनु पूर्व नै धेरै स्थानीय तथा बाह्य व्यक्तिहरूले रोजगारीको अवसर पाइरहेका छन् । स्थानीय ठाउँमा उद्योगहरू सञ्चालन हुने हुने भने प्राविधिक तथा अप्राविधिक र दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरूले पनि आफ्नो क्षमता अनुसारको काम पाउने उद्योगमा विद्युत् व्यवस्थापनको काम गर्दै आइरहेका दीपक अधिकारीले बताए ।






