चराहरुको प्रेमकथा

ओमप्रसाद घायल

चराहरुको प्रेमशालामा
भर्खरै निभेको छ एउटा जिन्दगीको दियो
र अविवेकी दैवको निठुर पञ्जामा परेर
यो संसारबाट छुटेको छ एउटी चरीको प्राणपखेरु ।
यतिखेर
लैला हराएको मजूनजस्तो
विक्षिप्त र विरक्त चरा
मुटु फुट्नेगरि माथितिर फर्केर चिच्याइरहेको छ
सायद माथि कतै बस्ने
कथित आस्थाको ईश्वरलाई
पुकारिरहेको छ ऊ
धिकारिरहेको छ ऊ ।

प्रेम प्रतिज्ञामा सँगै बाँच्ने कसम खाएकी
आफ्नी प्रियतमाको आकस्मिक मृत्युवरणले
शोकमा डुवेको
भँगेरी चराको चन्द्रबिलाप
र ईश्वरयाचना देखेर
म भावविह्ल भइरहेको छु ।
चराहरु सायद धेरै विवेकी हुँदारहेछन् मान्छेभन्दा
चराहरु सायद धेरै प्रेमशील पनि हुँदारहेछन् मान्छेभन्दा
एकअर्काप्रतिको प्रेम र
जिन्दगीको सहकार्यमा चराहरुको आदर्श
मान्छेभन्दा धेरैगुणा सभ्य हुँदोरहेछ
म एकटक हेरिरहेछु
चराहरुको प्रेमसौन्दर्यता
र बुझने कोशिस गरिरहेको छु उसको करुण भाषा ।

भर्खरै जीवन सहयात्राबाट विदा भएकी
आफ्नी प्रियतमाको प्राणपखेरु
ईश्वरसँग फिर्ता मागेर चिच्चाइरहेको छ ऊ
निरन्तर कराई रहेको छ ऊ
र भनिरहेको छ आफ्नो भाषामा
‘आउ प्रिय उडौं र पुगौ माथि आकाशतिर
कसैले नदेख्नेगरि,
कसैले नछेक्नेगरि
नत्र मलाई पनि देउ
तिमीजस्तै चीरनिद्रा सुत्ने साहस
मपनि तिमीसँगै निदाउन चाहन्छु जिन्दगीको अन्तिम निद्रा
र थकान मेट्न चाहन्छु सम्पूर्ण प्रलयको
किनकि,
बाँचेर पनि त कहाँ बाँचिन्छ र प्रिय
तिमीविनाको जिन्दगी
प्रिय चरी
एकपटक मलाई उसैगरि बोलाउ तिमीले
र अन्तिमपटक गर प्रेमको स्पर्श
र बताउ मलाई तिमी पुग्ने गन्तव्य
म तिम्रै न्यानो छायाँलाई पछ्याएर हिँडिरहन्छु
यो जिन्दगीको अन्तिम यात्रा
तिमीसँगै, तिमीसँगै कहिल्यै नफर्किनेगरि ।’

यो तस्वीर देखेपछि लेखिएको रफ कविता