पर्वत/मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन् । कुनै बेलामा देउपुर क्षेत्रका सफल सुन्तला उत्पादक कृषकको ख्याती कमाएका उनको बगैँचा अहिले झाडी र मरेका सुन्तलाका बोटहरूले भरिएको छ ।
भएभरका बोटहरू मरेको र मर्न थालेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकहरूलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे । काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको प्रकोप थाहा भएपछि उनले सुन्तला खेती नै छाडेका छन् । एकपटक लागेपछि निको नहुने गरी लाग्ने र प्रकोपका रूपमा बगैँचाका हरेक रुखमा सर्ने उक्त रोगले बगैँचा सखाप भएपछि जैसीले विगतदेखि नै गर्दै आइरहेको मौरी पालनमा मात्रै आफूलाई केन्द्रित गरेका छन् ।
सात रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोटहरू मासेर केरा, कोदो र अदुवा खेती गरिरहेकी छिन् । घर अगाडिको बगैँचामा रहेका सुन्तलाका सबै बोटहरू मरेपछि खाना पकाउने प्रयोजनको लागि काटेर बारीमा नै टेको बनाएर राखिएको छ । ‘देउपुरको जस्तो खेती र पाती बाजुङको जस्तो गाम, उराठै लाग्दो दुर्लुङे डाँडा मोहनी लाग्ने पाङ’भन्ने यताको गीतले पनि देउपुरको उत्पादनको महत्व बुझाएको तिमिल्सिना बताउँछिन् । तर त्यही देउपुरमा लगाइएका सुन्तलाका बगैँचा सखाप हुँदै जान थालेपछि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका कृषकहरू विस्थापित बन्दै गइरहेको उनको भनाइ छ ।
‘यति राम्रो खेतीपाती हुने ठाउँमा सुन्तला स्वाहा भए । प्रकृतिले हामीलाई हेरेको हेरेई बनाएको छ । अझै पनि केही हुन्छ कीभनेर बगैँचा सफा गर्ने गरियो तर केही उपाय लागेन’, उनले भनिन, ‘दैला अगाडि भएको सुन्तला बगैँचामा बुढेसकालसम्मै खटौँला, यसैबाट केही गरौँला भन्ने थियो । तर हाम्रो सपना पूरा हुन पाएन । दैलोबाट हेर्दा सोतर परेको सुन्तला बगैँचा देख्दा निद्रा नै लाग्दैन ।’
सुन्तला खेतीका लागि लाखौँ रुपैयाँ खर्च गरिसकेका टीकाराम सुन्तला खेती सुरु गर्ने बेलामा ४० लाख रुपैयाँ ऋणमा थिए । ऋण खोजेर बगैँचा बनाएका उनले ऋण तिरे पनि धेरै वर्ष बगैँचाको आयु रहन सकेन । त्यसैले त उनले पनि मौरी पालनमा आफूलाई केन्द्रित गर्न बाध्य भए । ‘१४ रोपनीजग्गामा पूरै सुन्तला लगाएको थिएँ । यहाँबाट ऊ तलसम्म हेर्दा सुन्तला नै सुन्तला थिए । अहिले एउटा पनि रुखमा हरियो पात देख्न पाइँदैन । यिनै मरेका सुन्तलाका बोट पनि के गरेर पन्छाउने हो रु’, उनले भने, ‘यत्रो जग्गा यत्तिकै खेर गइरहेको छ । सुन्तलाका जराले रुखो बनेको यहाँ कहिले मलिलो बनाएर के लगाउने होला रु कृषकको हालत यस्तै छ । जे लगाए पनि फेरि बाँदरले सखाप पार्छ ।’
कृषकहरूको समस्याका बारेमा सुन्तला बगैँचामा पुगेकी मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले उक्त बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताइन् । ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ ले त्यहाँका बगैँचाहरू सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताइन् । पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बाङ्गो, स्वादमा कडुवा र बीउ असमान बन्दै जाने भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताइन् । सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानी अनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ ।
‘एक पटक लागेपछि यसले छाड्दैन । सङ्क्रमित हाँगा वा बिरुवा नष्ट गर्दै जाने हो । अब यो ठाउँमा अम्लीय जातका फलफूलहरू हुँदैनन्, बरु विकल्पको रूपमा अन्य आम्दानीमूलक खेतीहरू गर्नु नै राम्रो हुन्छ’, शाखा प्रमुख तिमिल्सिना भन्छिन्, ‘उक्त ब्याक्टेरियाले अमिलो जातको फलफूलमा सङ्क्रमण गर्ने भएकाले सोही बगैँचामा अम्लीय जातका फलफूल लगाउँदा फेरि सङ्क्रमण देखिने उच्च जोखिम रहन्छ । त्यसैले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पको रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसार, लगायतका खेतीहरू गर्न सकिन्छ ।’






