कोरोना भाईरसले दियो सिंगो संसारलाई चुनौति: अब के होला !

पर्वत/प्राणघातक कोरोना भाइरसजन्य रोगले संसारभरको मानव अस्तित्वलाई चुनौती दिइरहेका बेला बालीनालीमा भइरहेको सलहको फौजी आक्रमणले कतिपय देशहरु रोग र भोकको दोहोरो चपेटामा पर्ने संकेत गरेकोे छ । कोभिड– १९ चीनको वुहानबाट शुरु भयो भने, सलहको कहर अफ्रिकी मुलुक केन्याबाट शुरु भएको छ । तर, दुबै विपत्ति लगभग एउटै समयमा शुरु भएका छन् । र, दक्षिण एसियाली देशहरुमा यस शताब्दीको शुरुवातमै सायद सबैभन्दा ठूलो विपत्तिका रुपमा आइलागेका छन् ।

यी दुवै विपत्तिहरुको अर्को फरक पनि खोतल्न सकिन्छ । कोभिड–१९ को भाइरस सायद भिसाप्राप्त मानिसहरुको शरीरको माध्यमबाट देशविदेश चाहार्न सक्यो होला । तर, सलहले भिसाबिनै हामी मानव जातिकोखाद्यान्नबालीहरुमा धावा बोलिरहेको छ । अफ्रिकाका कतिपय देशहरुले त फौजी सलहकै कारण भोकमरी व्योहोरिरहेकै छन् ।

डा. काशीनाथ चिलुवाल
यो पनि आकलन गर्न थालिएको छ कि सायद सलहको फौजी आक्रमण भएका विश्वका भूभागमा कोरोनाले भन्दा बढी भोकमरी र कुपोषणका कारण मानवजीवन हाताहाती हुने खतरा छ । भाइरसजन्य कतिपय रोगहरुको उपचार पत्ता लगाएजस्तै कोरोनाको पनि ढिलोचाँडो औषधिमुलो पत्ता लाग्न सक्छ । तर, ठूलै जीव भैकन पनि र इतिहासमा बारम्बार समस्याको रुपमा देखापरिरहेको सलहले क्षति गर्नुपूर्व प्रभावकारी नियन्त्रण गर्न सकिएको छैन । बेलाबखत आइलाग्ने सलहको समस्या विश्वको भोकमरी, खाद्य तथा पोषण असुरक्षाको कारक बन्दै आइरहेको छ ।

सन् १९८६ – १९८९ को सलहको अन्तरदेशीय फौजी आक्रमण र त्यसपछिको दुई दशकसम्म यसको पुनरावृत्तिका कारण अफ्रिकाको धैरैजसो भूभाग र पूर्वी तथा दक्षिण पश्चिम एसियाली देशहरुको खाद्य तथा पोषणमा चुनौती थपिएको थियो । सन् २००४–२००५ मा पनि फौजी सलहका कारण खाद्यसंकट परेको थियो । हाल आएर सलहको फौजी आक्रमण विगतको भन्दा भयानक हुनु दुखद हो । कोरोना यस महामारीले गर्दा विश्वव्यापी बन्दाबन्दी भएकाले अन्तरदेशीय यातायातको समस्या पर्नुका साथै विषादीको क्रय र सञ्चिती आदिमा असर पुग्न जाँदा यो किराको प्रभावकारी नियन्त्रण हुन सकिराखेको छैन ।

भारतमा आतंक पैदा गरिसकेको सलह हाम्रो देशसम्म आइपुग्ला या नपुग्ला ? कथंकदाचित आइपुग्यो भने कुन हदसम्म आइपुग्ला ? कति क्षति पुर्‍याउला, कति समयसम्म रहला र यसको नियन्त्रण गर्न सकौंला नसकौंला भन्ने अनेक विश्लेषणहरु शुरु भएका छन् ।

यसै सेरोफेरोमा रहेर सलह के हो, यसले संसारभरमा पुर्‍याएको क्षति के–कस्ता छन्, संसारका कुन–कुन भुभाग यो किराको जोखिममा छन्, नेपालसम्म यो आइपुग्ने सम्भावना कति छ र हाम्रो सरकार मातहतका बाली संरक्षणका संरचनाहरु (विश्वविद्यालय, अनुसन्धान निकाय र प्रसार) यसको नियन्त्रणमा सक्षम होलान वा नहोलान् भन्ने विषय यस लेखमा उठान गरिएको छ ।

१. सलहको जीवनचक्र

फट्यांग्रा वर्गको किरा सलह हो, जसलाई अंग्रेजीमा लोकस्ट र वैज्ञानिक भाषामा चिस्टोसर्का ग्रेगारिया भनिन्छ । फट्यांग्रासँग मिल्दोजुल्दो भएता पनि यस किराका केही भिन्न विशेषता हुन्छन् । तलको (जीवन चक्र) मार्फत यस बारेमा केही जान्न सकिन्छ ।

चिक्र २. बयष्क सलह । चित्र ३. सलहको जीवनचक्र ।
पुतली, खपटे, झिंगा आदि वर्ग (जसको जीवनचक्रका ४ अवस्थाहरु हुुन्छन् र पूर्ण जीवनचक्र भनिन्छ) को कीराहरुको तुलनामा सलहको जीवनचक्रमा ३ वटा अवस्था हुन्छन् : अण्डा, होपर (अथवा बच्चा अवस्था जसलाई निम्फ पनि भनिन्छ) र बयष्क अवस्था । सलहको जीवनचक्र अन्य किराको दाँजोमा अपूर्ण मानिन्छ ।

अण्डा अवस्था : वयष्क सलहको पोथीले बलौटे माटो भएको खाली जमिनमा फूल पार्ने गर्छ । यस्तो माटो मरुभूमि वा सुख्खा पठारहरुमा पाइन्छ । तर, फुल पार्ने समयमा जमिनमा चिस्यान हुनुपर्छ । संसारमा यस्तो जमिन प्रशस्तै पाइने भएता पनि उत्तरपूर्वी अफ्रिकाका देशहरु जस्तै केन्या, इथियोपिया, इरित्रिया, सोमालिया आदि सलहको प्रजनन् र वृद्धि विकासको हिसाबले उपयुक्त मानिन्छन् । यी देशहरु हिन्द महासागरको तटीय क्षेत्रमा पर्दछन र केही बर्षको अन्तरालमा सामुद्रिक आँधीका कारणले वर्षा गराइदिने हुनाले सलहलाई फुल पार्न उपयुक्त चिस्यान प्राप्त हुन्छ । सन् २००४ र २०१२ मा अनि गत वर्षको अन्त्यतिर यी तटीय देशहरुमा हिन्द महासागरबाट आएको सामुद्रिक आँधीले गराएको वर्षाका कारण सलहको प्रकोप अन्य वर्षहरुको तुलनामा व्यापक भएको हो ।

यो वर्ष सलहको प्रकोप बढी हुनुमा सामुद्रिक आँधीकासाथै समय समयमा परेको वर्षा पनि हो । बलौटे माटोमा चिस्यान उपलव्ध हुनु र वातावरण उष्ण हुनु यो किरालाई फुल पार्न उपयुक्त अवस्था मानिन्छ । माटोको सतहमुनि १२ सेमि गहिराइमा चिस्यान उपलब्ध छ भने सलहले ९–१० सेमीको गहिराइमा फुलहरुको थुप्रो करीब ८० देखि १६० वटासम्म लगाइदिन सक्छ ।

चित्र ४. माउपोथीले बालुवामा फुल पार्दै (बायाँ) र एक झुण्ड सलहको फुल (दायाँ) ।
प्रतिथुप्रो फुलको संख्या माउ सलहको अवस्था एक्लाएक्लै रहने विभिन्न फेज र वातावरणीय अवस्थामा भर पर्छ । सोलिटारी अवस्था अथवा ग्रेगारियस अवस्थाबारे यसै लेखमा पछि कहीँ उल्लेख गरिएको छ । एउटा माउ सलहले जीवन अवधिमा २–३ पटकसम्म यस्ता थुप्रोमा फुल पार्ने क्षमता राख्छ । यी अण्डाहरु उपयुक्त तापक्रम पाएपछि कोरलिन्छन् र होपर (बच्चा) हरु पैदा हुन्छन् । यदि माटोको तापक्रम २५ डिग्री सेल्सियससम्म छ भने अण्डाबाट होपर निस्कन २५ दिन लाग्छ । यदि ३५ डिग्री सेल्सियस छ भने करीब १२ दिन लाग्छ ।

माथि उल्लेखित अफ्रिकी देशहरुमा औसतमा २ हप्तामा अण्डाबाट होपरहरु निस्कन्छन् । १५ डिग्री सेल्सियसभन्दा कम र ३५ डिग्री सेल्सियसभन्दा माथि भएको खण्डमा अण्डा कोरलिन सक्दैनन् र सलहको प्रकोप भयावह हुँदैन ।

चित्र ५. माटोको सालाखाला तापक्रम र सलहको अण्डा कोरलिन लाग्ने समयको सम्वन्ध ।
अफ्रिकी मुलुकहरुमा तापक्रमभन्दा पनि सलहले फुल पार्ने बेलामा उपलब्ध माटोको चिस्यानले फुल कोरलिने दरमा असर पार्छ । यसको अर्थ सामुद्रिक आँधी अथवा लगातारको वर्षा भएको वर्ष सो क्षेत्रहरुमा र त्यहाँबाट फौजी उडान लिएका सलहबाट अन्य महाद्वीपका देशहरुमा अति प्रकोपको अवस्था सिर्जना हुने गर्छ ।

होपर अथवा बच्चा अवस्था

उपयुक्त माटोको चिस्यान र तापक्रम पुगेपछि सलहको अण्डाबाट होपरहरु निस्कन्छन् । होपरका ५/६ वटा अवस्था हुन सक्छन् । सोलिटारी चरणको सलहको होपरको ६ वटासम्म अवस्था हुन सक्छन् । सोलिटारी होपरहरु मूलतः फट्यांग्रा रंगका हुन्छन् । (हेर्नुहोस् तलको चित्र वायाँ)

करीव २४–३२ डिग्री सेल्सियसलाई होपरको बृद्धि विकासका लागि उपयुक्त तापक्रम मानिन्छ । तापक्रम बढ्दै जाँदा होपरको विकासका लागि चाहिने समय छोटो हुँदै जान्छ, अर्थात जीवनचक्र छोटो हुन्छ र सलहको प्रकोप बढ्छ । यसको मतलव, सोलिटारी होपरहरु जम्मा हुँदै ठूलाठूलो समूह बनाउँदै जान्छन् ।

जब यी होपरहरु एकअर्कालाई भेट्छन् र यिनीहरुमा सेरोटोनिन हर्मोन (ह्पाप्पी हर्मोन पनि भनिन्छ) पैदा हुन्छ, जसले यिनीहरुमा सामुहिक भावनाको विकास हुन्छ र खानाको खोजीमा लामो दुरी तय गर्न सक्छन् । यी समूहहरु झनै ठूलो हुँदै गएपछि यी होपरहरुको आनीबानी, शैली र रंग समेत (पहेंलो रंगमा) परिवर्तन भई ग्रेगारियस चरणमा प्रवेश गर्छन् । (हेर्नुहोस् तलको चित्र वीच)

चित्र ६. सोलिटारियस होपर (बायाँ), ग्रेगारियस होपर (बीच) र होपर ब्याण्ड (दायाँ) ।
ग्रेगारियस चरण भनेको हानीकारक चरण हो । यदि माउले फूल पार्नुभन्दा अघि सो क्षेत्रमा पानी परेको छ र हरिया विरुवा बुट्यान छन् भने, यी होपरको समुहलाई खाना उपलब्ध हुन पुग्छ र होपरको समुह ठुल्ठुुलो हुँदै जान्छ । यसरी समूह बनाएर हिँड्ने होपरको ठूलो समूहलाई होपर ब्याण्ड भनिन्छ । (हेर्नुहोस् माथिको चित्र दायाँ)

चौथो अवस्थाको होपरहरुको व्याण्ड एक दिनमा करीव २०० देखि १७०० मिटरको दुरी पार गर्न सक्षम हुन्छन् । घाम लाग्ने दिनमा सो ब्याण्डले लामो दुरी पार गर्न सक्छ भने, बदली भएमा कम दुरी पार गर्छ । सो दुरी खानाको उपलव्धतामा पनि भर पर्छ । खानाको खोजीमा सो ब्याण्ड धेरै समय लगाएर लामो दुरी प्रायःजसो हावा चलेकै दिशातिर पार गर्न पनि सक्षम हुन्छ ।

होपरहरु वयष्कभन्दा आकारमा साना, पखेटाहरु शरीरको लम्बाइभन्दा छोटा भएका हुन्छन्, जो क्रमशः विकास हुँदै जान्छन् र उड्न सक्दैनन् । साधारणतयाः ३०÷४० दिनमा होपर अवधि समाप्त भएर वयष्क अवधि शुरु हुन्छ ।

बयष्क अवस्था : अन्तिम अवस्थाको होपर मोल्टिङ (किराको बच्चा अवस्थामा एक चरणबाट अर्कोमा जाँदा छाला फेर्ने प्रक्रिया) भएपछि वयष्क बन्छ । वयष्क बनेको १० दिनभित्र सलहले उडान भर्न सक्छ । यसरी निस्केको सलहलाई सोलिटारियस सलह भनिन्छ, जो हल्का हरियो खैरो रंगको हुन्छ । सोलिटारियस वयष्क सलह सूर्यास्त भएपछि रातिको समयमा वातावरणीय तापक्रम २० डिग्री सेल्सियसभन्दा बढी भयो भने मात्र उड्न सक्छ र केही घण्टाको एक उडानका दरले प्रत्येक रात १० घण्टासम्म उड्न सक्छ । थोरै सलहहरु मात्र छन् भने तिनीहरुमा सोलिटारियस प्रकृति देखिन्छ । यदि लाखौं करोडौंको संख्यामा छन् भने ग्रेगारियसको प्रवृत्ति देखाउँछन् । जब माटोमा प्रशस्त चिस्यान हुन्छ र प्रशस्त बोटविरुवा (खाना) उपलब्ध हुन्छ, ग्रेगारियस प्रकृतिका सलहहरु एकैचोटि धेरैवटा झुण्डमा पैदा हुन सक्छन् ।

यस्ता ग्रेगारियस वयष्क सोलिटारियसभन्दा बढी पहेंला रंगका हुन्छन् । होपरहरुमा जस्तै सेरोटोनिन हर्मोनले वयष्कहरुमा पनि ग्रेगारियस प्रकृति विकसित हुन्छ । एउटा एक वर्ग किलोमिटरको झुण्डमा साधारणतया ४ देखि ८ करोडसम्म ग्रेगारियस प्रकृतिका सलह हुन सक्छन् र एक दिनमा ३५ सय मानिसलाई पुग्नेजति खानेकुराको क्षति गर्न सक्छन् ।

दिनमा १५० किलोमिटरसम्म यात्रा गर्ने सामथ्र्य राख्ने यी किराहरुको संख्या र व्यापकताका आधारमा क्षेत्रीय, अन्तरदेशीय र अन्तरमहाद्वीपीय गरी तीन वर्गमा विभक्त गर्न सकिन्छ । अहिले अफ्रिकाबाट शुरु भएर एसियाली देशहरुमा आइपुगेको चाहीँ अन्तरमहाद्वीपीय प्रकारको सलहको फौज हो ।

एउटा वयष्क सलहलाई परिपक्व (प्रजननमा भाग