पर्वत/म्याग्दी र मुस्ताङ जिल्ला छोटो मुख्य रूपमा पोखरा र अन्य जिल्लामा जोड्ने सडक मालढुङ्गा–बेनी सडकखण्ड हो। यो सडकको मुख्य टाउको दुखाइ भने पर्वतको जलजला गाउँपालिका–७ धाईरिङको केराबारी बनेको छ। कालीगण्डकी नदीको किनारसँगै रहेको केराबारीमा लगातारको वर्षाको कारण पछिल्ला केही दिनदेखि निरन्तर पहिरो झर्ने र रोकिने भइरहेको छ। जलजला गाउँपालिकाले एक्स्काभेटरको सहायताले पटक–पटक पहिरो पन्छाउँदै आएको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा उक्त सडक खण्डको यात्रा नै जोखिमपूर्ण बन्दै आएको छ।
शनिवार रातभरको वर्षाले केराबारीमा सडकमाथि झरेको पहिरोले पुरेको सडक पन्छाउन दिनभर नै लाग्यो। साँझ अबेर मात्रै एकतर्फी रूपमा सडक खुलेको भए पनि सोमबार बिहानैदेखि बाटो फेरि अवरुद्ध भएको छ। पटक–पटक पहिरो झर्ने क्रम नरोकिएकोले एकतर्फी रूपमा बाटो खुलेको बेलामा पनि उक्त सडकबाट सकेसम्म यात्रा नगर्न जलजला गाउँपालिकाले अनुरोध गर्दै आएको छ।
मालढुङ्गा–बेनी सडकको विकल्पको रूपमा मालढुङ्गा–रत्नेचौर–बेनी सडक प्रयोग गर्न सकिने अवस्था छ। तर यही बाटोमा समेत पहिरो झर्दा म्याग्दी र मुस्ताङबाट कुश्मा हुँदै पोखरा जोड्ने सबै मार्गहरू बन्द हुने गरेका छन्। शनिवार रातीको पहिरोले पहिरो झर्दा मालढुङ्गा–रत्नेचौर–बेनी सडक समेत अवरुद्ध भएको थियो। मालढुङ्गा–रत्नेचौर–बेनी सडक मालढुङ्गा–बेनी सडकको तुलनामा धेरै लामो दूरीको भएकोले सवारी साधनले जोखिम मोलेरै भए पनि मालढुङ्गा–बेनी सडक प्रयोग गर्दै आइरहेका छन्।
त्यतीमात्रै नभएर केराबारीमा पहिरो गएको स्थानमा सडक मर्मतको क्रममा स्थानीयसँग विवाद भएपछि आइतबार बाटो समयमा नै पुनः सञ्चालनमा ल्याउन ढिलाइ भएको थियो। स्थानीयसँगको सहमतिपछि पहिरो पन्छाउने काम पुनः सुरु भए पनि दिनभर खट्दा समेत समयमै काम पूरा हुन सकेन । मालढुङ्गा–बेनी सडक अन्तर्गत सडक स्तरोन्नतिको काम पनि चलिरहेको छ। केराबारीमा रहेको भीरको माथि सम्मको भाग काटिएकाले उक्त स्थानमा पहिरो झरेको स्थानीयबासीले बताएका छन्। त्यहाँबाट निस्किएको ढुङ्गा र गिट्टीलाई सडकमै प्रयोग गर्न पाउँदा निर्माण कम्पनीलाई सुलभ हुने भएकोले आवश्यकता भन्दा बढी भीर काटिएको स्थानीयको भनाइ छ।