बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको वलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्षको समयावधि पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनि विगतका वर्ष झै बर्खायामका लागि आवश्यक स्रोत साधनको भरपुर तयारीमा जुटेका छन् । मलेसियाको पन्ध्र वर्षे बसाइबाट सन्तुष्ट बन्न नसकेपछि उनले गाउँबाटै दुधको कारोबार गर्न थालेका हुन् । वलेवाबाट पर्वतको सदरमुकाम कुस्मामा दूध बिक्री गर्दै आएका ढकाल अहिले यो पेशामा आफुलाई गर्भिलो महशुस गर्न थालेको बताउँछन् । प्रारम्भिक चरणमा सुक्ष्म आकार अर्थात् ३ वटा गाई र २ भैसीबाट उत्पादन सुरु गरेका ढकालले अहिले आधुनिक गोठमा भरीभराउ गाइभैसी पालेका छन् । नगरपालिकाबाट अनुदानमा पाएको १ लाख ५ हजारले गोठ निर्माणमा केही सहज भएको उनी बताउँछन् । सुरुवातमा रु २५ लाखको लगानीमा पशुपालन सुरु गरेका उनको व्यवसाय विस्तारले निरन्तरता पाएपछि अहिले रु ४० लाख बराबरको लगानी यस क्षेत्रमा लगाएका छन् । “पशुपालनबाट कृषिमा सम्भावना देखेपछि उनलेे व्यवसाय विस्तार गर्दै आएको बताउँछन् । अहिले दुधका अलावा तरकारी खेतीलाई पनि जोड दिदै आएका उनले “आत्मसन्तुष्टिका लागि रोजेको पेशामा पनि टिक्न सक्यो भने राम्रो फाइदा हुँदो रहेछ” भन्ने गरेका छन् । जसका कारण उनी त्यस क्षेत्रमा उदाहरणीय बन्दै गएका छन् । यसै सन्दर्भमा बिस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।
वर्षौं विदेशी भुमिमा परिवारको खुशी खोज्न रुमलिएका ढकाल अहिले आफ्नै जन्मभुमिको कृषि र पशुपालनमा रमाइरहेका छन् । आफू विदेश वृद्दावस्थाका आमाबुबा र हजुरामाको जिम्मेवारी भित्र दुई छोराको सर्वेसर्वा श्रीमतीलाई बनाएँ । निडर र आटिलो पनकै कारण आफुलाई परिचालन गर्न सिपालु श्रीमती दुर्गा नै आफ्नो सफलताको पर्याय रहेको उनी बताउँछन् । नेपालीहरुको विवशता स्वदेशको कमाइले परिवार चलाउन असमर्थ युवाहरुको भिडमा परेका ढकालले करिब डेढ दशक मलेसियामा पसिना बगाए । जीवनले ४ दशक उकाली लाएपछि जन्मभुमिको विकल्पलाई त्यागेर घर फर्किए । आखिर विदेशी भुमिमा जति दुख गरे पनि जन्मभुमिको हार्दिकलाई स्वीकार गर्नै पर्दो रहेछ । विदेशी भुमिले क्षणिक सुखको अनुभुति दिलाए पनि जन्मभुमिको स्वागतका अगाडि सबै फिक्का हुने ढकालको ठम्म्याइ छ ।
छोरा बुहारीले बाल्टिका बाल्टी दूध दुहुन्छन् । नातीहरु मोटरसाइकल लिएर वरिपरि घुम्छन् । आफुले पैदल हिडेर नुन, तेल गर्ने गरेको बजारमा पुगेर क्षणभरमा फर्किन्छन् । आफुले देख्दाको केही रहेन, बाटोघाटो र संरचना पुरै फेरिए यो देखेर नौ दशक निकट उमेर काट्दै गरेकी डम्बरकुमारी पुलकित हुनुहुन्छ । दुई छोरीपछि जन्मिएको छोरो विवाह पछि दुई नाति जन्मिए एकको दुई दुइको चार भए भनेर खुशी थिँए । परिवार चलाउन विदेशको बाटो रोज्यो । यहीँ ठाउँमा दुख गरे नि ज्यान पाल्न सक्छस् भन्दा अटेर गर्यो । १५ वर्षसम्म बाहिर देश बसो “कहाँ जालास् मछली मेरै ढडिया” भन्या झै अहिले आफ्नै घरमा आएर इलम गरेको छ । छेउमै बसेका चण्डीप्रसादले थप्नु हुन्छ । हामीले यहि छोरालाई दुई मुठी सेतो खुवाउन रातदिन दुख गर्यौँ । अहिले उस्ले सारा गाउँलाई दूध पुर्याएको छ । आफ्नै जन्मभूमिमा पसिना बगाएको छ । गौ माताको सेवा गर्न पाउनु पनि ठुलै पुण्यको कुरा हो । पैसाले बेचे पनि समाजमा हुने धार्मिक अनुष्ठानहरुमा अमृत रुपि दूध पुर्याएको छ । पुरानो समयमा पुण्य प्राप्तिका लागि भए गाइको सेवा गर्नु नभए मेवा रोप्नु भन्थ्ये । छोराले व्यवसायिक फर्म सञ्चालन गरेको र दुधको कारोबारमा बलियो बनेकोमा उहाँ हर्षित हुनुहुन्छ ।
बागलुङको दक्षिणी गाउँ अमलाचौरको माझघरस्थित ढकाल परिवारमा वि.सं. २०३४ सालमा जन्मिएका मुकुन्दले पृथ्वी मा.वि बाट कक्षा १० सम्म अध्ययन गरे । बाबुको पुर्ख्यौली कृषि पेशा परिवारको बढ्दो महत्वाकांक्षा र बिदेशीने युवाहरुको भिडका बिच विदेश जाने सपना बुने । घरायसी काम र कृषि पेशाबाट उम्किएर विदेश पुगिहाल्ने र पैसा कमाउने उनको उद्देश्य पूरा हुन सकेन । एकपछि अर्को गरेर उत्पन्न हुने पारिवारिक आर्थिक समस्याले झनै जरजर अवस्थामा पुर्यायो । यसैबिचमा सामाजिक परम्परा र वृद्धावस्थाका बुबाआमाको इच्छा अनुसार छिमेकी गाविस पैयुपाट निवासी गोविन्द लम्सालकी १९ वर्षीय छोरि दुर्गासङ्ग विवाह भयो । उमेरले एक बीस समय पार गर्दै गरेका मुकुन्द एकबाट दुई भए । बाबुआमाले छोराको विवाह गरिदिएपछी आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका थिए । यता मुकुन्द नयाँ जीवनको कसिभित्र बाधिनुका साथै वर्तमान परिवारको आर्थिक बोझ र आगामी आर्थिक जटिलताले पुर्ण काल्पनिकता भित्र विछिप्त बन्दै गएका थिए । त्यतिकैमा मुकुन्द छरछिमेकी सहपाठी साथीहरु, दाजुभाइको शैक्षिक उन्नति र सफा जीवन चरीत्रभित्र आफ्नो पनि उदाउँदो व्यक्तित्व खोज्न थाले ।
तत्कालीन समयमा मध्यमवर्गिय आर्थिक अवस्थाको परिवारमा जन्मिएका उनले आफूलाई व्यवहारिक जीवनका अतिरिक्त आर्थिक रुपमा सम्पन्न गराउनु थियो । समयको पाबन्दी दुई छोराको जन्म भयो । जेठो छोरो स्वअस्तित्व खोदै थियो भने वर्षीको कान्छो छोरोले बाबाको परिचय खोज्ने तरखरमा थियो । त्यत्तिकैमा आफ्नो जीवनको यात्रालाई २०६१ सालको अन्त्यतिर मलेसियातर्फ मोडे । १५ वर्षको बसाई पश्चात् एकैपटक घर फर्किएका उनले तत्कालीन समयको सम्पुर्ण आम्दानी पशुपालनमा खर्चिएका थिए ।
प्रारम्भमा चौतर्फी आश्वासन, माया र सद्भाव प्राप्त गरे पनि बिस्तारै एक्लै यो पेशामा भिड्नुको विकल्प थिएन । गाउँमा स्थापना भएको नव नमुना दुग्ध उत्पादक सहकारी लि.को सहकार्यमा दूध बेचेर उल्लेख्य आम्दानी गर्ने सपना मुकुन्दले बुनेका थिए । तर विडम्बना स्थानीय धनीमानी र ठुलाबढाहरुको बोलवालाका अगाडि उनले आफ्नै दुधको मूल्य पाएनन् । जिल्ला दुग्ध व्यवसायी समितिले प्रतिलिटर रु ९० रुपैयाँ बिक्री दर तोकेको तत्कालीन परिवेशमा आफ्नो दुधलाई सहकारीले ३८ रुपैयाँ लिटरमा सिमीत गरायो । त्यही मूल्यको भुक्तानी पनि महिनौं दिनपछि आउथ्यो । त्यसपछि दोस्रो बजार खोज्न थालेका मुकुन्दलाई बागलुङतर्फ जान दब्ल्याङ्को पहिरो बाधक बन्यो । आफ्नो चर्को लगानीका बिच उत्पादित दुधले स्थानीय बजारमा मुल्य पाएन । बाह्रैमास बागलुङ दूध पुर्याउन सकस थियो । कुनै दुग्ध जन्य वस्तुको उद्योग खोल्न र उत्पादित दुध पुर्ण रुपमा खपत गर्न आफुसङ्ग लागत थिएन । जस्का कारण उनले आफ्नो पुरै लक्ष्य नै विफल भएको महशुस गरेका थिए । तर परिवारको साथ, आफ्नो दरिलो र दीर्घकालीन सोचका कारण उनी यो समस्याबाट विचलित बनेनन् । केही समयको आरोह अवरोहलाई क्षणिक विपत्तिको संज्ञा दिदै छिमेकी जिल्ला कुस्मा बजार पुगे । अनिश्चित वस्तुको सेवाबाट मानव जीवनले उचित गन्तव्य पाउदैन । परन्तु निश्चित वस्तुको आत्मसात् गरे अवश्य सफल बन्न सकिन्छ भन्ने बुझेका मुकुन्दले छोटो समयमै त्यहाँका व्यपारीसङ्ग सामिप्यता बढाए र बजारका मानिसहरूलाई ग्राहकको सुचिमा सुचिकृत गर्न सफल भए । अहिले बजारमा स्वस्थ र बिना कैफियतको दूध बिक्री कर्ताको परिचय नै बनाएका ढकालले यहीँ बजारमा दुधको कारोबार गर्न र आफ्नो सपना पूरा गर्न अन्ततः कान्छो छोरा सागरलाई मोटरसाइकल नै सिकाउने निर्णय गरेका थिए । सुरुवाती चरणमा केही असहज भए पनि बाबुछोराको दृढ इच्छाशक्ति र आत्मविश्वासले बिस्तारै दुधको कारोबार सहज भएको उनी स्मरण गर्छन् ।
स्थानीय बजारको तुलनामा करिब ११/१२ किलोमीटरको दुरि टाढा भए पनि दोब्बर बढी मूल्य पाएको छु । उपभोक्ताको घरमै दूध पुर्याउछु । आफुसङ्ग कारोबार गर्ने सबै उपभोक्ता सन्तुष्ट छन् । गुणस्तर दिन सके यो व्यवसायबाट पलायन हुनु पर्दैन भन्दै बजारमा आफ्नो दुधको माग चर्को रहेकोमा उनी प्रफुल्लित छन् । परम्परागत खेतीपातीका अतिरिक्त तरकारी खेती गरेको छु । साँझ बिहान घरमा दूध लिने मानिसहरुको भिड लाग्छ । बड्दो शहरीकरण र सौखिन जीवनयापनका बिच मेरो संघर्षले औचित्य पाएको छ । शहरमा बस्ने छोराबुहारी र गाउँमा बस्ने वृद्ध आमाबुबाहरु दुवैलाई दूध पुर्याएको छु । भूगोलले केही टाढा भएकाले बर्खाको समयमा समस्या हुन्छ । यद्यपि गाउँ घरमा युवा जनशक्तिको खडेरी चलिरहेको छ । श्रीमान विदेश नातिनातिना र बुहारी शहरमा वृद्धवृद्धाहरु गाउँमा छ्न् । यो परिवेशमा सक्दो सहयोग गरेको उनको भनाइ छ । हामी जस्ता कृषि र पशुपालनमा लागेका युवाहरुलाई वडा र पालिकाबाट केही राहत अनि हौसला दिनु पर्ने महशुस हुन्छ तर राज्यको नीति त्यस्तै होला । बाहिर बोलिएका सबै कुरा भित्र लागू हुँदैनन्। बाहिर औपचारिकतामा त कृषि, कृषक र पशुपालनमा लागेकाहरुलाई सहयोग गर्छौं भन्छन् तर परिणाम केही आउँदैन । केही महिना अघि ४/५ वटा गाई भैंसी गुमाउनु पर्यो । इन्स्योरेन्स कम्पनीबाट केही राहतको महशुस गरे पनि वडा र पालिकाबाट सान्त्वना समेत नपाएको उनको गुनासो छ ।
स्थानीय स्तरमा हुने राजनैतिक चलखेलका कारण वास्तविक किसान र व्यवसायमा लागेका म जस्ता उद्यमीहरु निरन्तर ओझेलमा परिरहेका छौं । उत्पादित वस्तुले उचित मूल्य सहित बजार नपाउनु दुखको कुरा छ । बाह्य बजारका वस्तुहरुको विक्री वितरणलाई रोकेर भए पनि स्थानीय उत्पादनलाई बढावा दिनु पर्छ । उनी थप्छन्, कृषकको उत्पादनले सहज रूपमा बजार पाए म जस्ता कृषक युवाहरुलाई सहज हुन्थ्यो । यद्यपि यतिका चुनौती र समस्याका बिच ढकाल दुधको कारोबारमा सन्तुष्ट नै छन् । श्रीमती र छोराहरुको पुर्ण सहयोग पाएको बताउँछन् । करिब नौ दशक उमेर बिताउनु भएका आमाबुबाको साथमा खुशी छु । लगानी गरेर पछुताउनु परेको छैन । आफ्नो पेशामा अभ्यस्त बन्दै गएका मुकुन्द भन्छन्, कृषि र पशुपालन व्यवसायमा लागेका युवाहरूलाई प्रदेश, पालिका र वडास्तरबाट केही मात्रामा सहयोग मिले समग्र देश नै कृषिमा आत्मनिर्भर बन्छ । एकीकृत पशुपालनमा स्थानीय तहले समन्वय गरेर भरपुर सहयोग दिन सके कुनै पनि युवा आफ्नो परिवार पाल्न कै लागि खाडी मुलुक जान नपर्ने उनको ठम्याइ छ । पशुपालन व्यवसाय फस्टाउदो छ । परिवारका सदस्यले मात्रै वर्तमान माग धान्न सकस भइरहेको छ । केही समयमा दुहुना गाइको सङ्ख्या थपेर दुई जना कामदार राख्ने योजना रहेको उनी बताउँछन् । पढेलेखेका, पढ्दै गरेका, दक्ष, अर्धदक्ष र अदक्ष सबै नेपालीहरु विदेशको मोहमा परेको विद्यमान अवस्थामा ढकाल जस्ता पौरखी युवाहरुलाई सरकारले सहयोग र हौसला प्रदान गर्नै पर्छ । अन्यथा विदेश पलायन हुने नेपालीहरुको बहिर्गमनले देशलाई अपुरणिय क्षती हुने निश्चित छ ।