प्राणघातक रोगका बिरामीहरूलाई १० हजार सहयोग गर्ने पैयुँ गाउँपालिकाको निर्णय

194

पर्वत/पैयुँ गाउँपालिकाले गम्भीर रोग लागेका नागरिकको उपचारमा सहयोग गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको उपचारमा गाउँपालिकाले सहयोग गर्ने भएको हो । गाउँपालिकाले स्थायी रुपमा बसोवास गदै आएका मुटु, मृगौला, क्यान्सर र पक्षघात (प्यारालाइसिस) का विरामीले पालिका भन्दा बाहिरी स्वास्थ्य संस्थामा उपचार वा चेकजाँच गराएको हकमा दश हजार रुपैयाँ दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राजले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर तथा विपन्ता भएका पैयुँ गाउँपालिकामा स्थायीवासी गर्ने नागरिकलाई पालिका भन्दा बाहेर गएर उपचार तथा चेकजाँच गराएर आएमा पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । पलिका अध्यक्ष ठकुरीका अनुसार सम्बन्धित वडा कार्यालयले सिफारिस गर्दा बिरामीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, आर्थिक अवस्था कमजोर वा विपन्न प्रमाणित भएको कामजात संलग्न राखी पठाउनुपर्ने छ । सम्बन्धित वडा कार्यालयको सिफारिस संलग्न भई गाउँपालिकामा आएमा अध्यक्षको ताकादेशबाट उपलव्ध गराईने छ । पैयुँ गाउँपालिकाको यस्तो कार्य उदाहरणीय भएको भन्दै पैयुँबासीले खुसी व्यक्त गरेका छन् । अन्य स्थानीयतहमा यस्ता कैयौं विरामीले सहयोग माग्दै गाउँपालिकाको ढोका ढक्ढकाए पनि सहयोग नपाईरहेको अवस्थामा पैयुँले गरेको यो काम सराहनीय भएको भन्दै नागरिकले प्रशंसा गरेका छन् ।

सरकारले प्राणघातक रोगको उपचार खर्च दिने कानुन बनाएर सहयोगको ढोका खोले पनि कतिपय स्थानीयतहले आन्तरिक कानुन बनाउन नसक्दा जनता कानुन बमोजिम स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनु परेको गुनासो गरिरहेका छन् । यस्तो बेला पैयुँको यो कार्य उदाहरणीय भएको स्थानीयको प्रतिक्रिया छ ।

पैयुँ गाउँपालिकाको गत सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाले वडास्तरमा घुम्ति सेवा मार्फत अपाँगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरढा गर्न वडावडामा पुगेर शिविर संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै पैयुँमा बाँदरले बालीनाली क्षति गरेको हुँदा यसको न्यूनिकरणका लागि खेतवारीमा रहेका, उत्पादकत्वमा प्रतिकुल असर पार्ने र रुखका कारण जोखिममा परेका घर तथा गोठदेखि ८० (असी) मिटर सम्मका ठुला प्रकृतिका रुख कानून कमोजिम कटान गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।