मलेसियाबाट फर्केका हर्क दाइको हिरासत यात्रा !

31

फिल्मका ‘हाकु काले’ जस्तै लामो र कर्ली केस भएका हर्क दाइको टाउको पूरै मुडिएको थियो, जब हामीले इलाम कारागारमा उनलाई फेला पार्‍याैं । पसिना चुहिने गरी श्रम गर्नुपर्ने, थपीथपी भात खानुपर्ने, खैनी माड्दै अट्टहासपूर्ण हाँस्नुपर्ने, बुख्याँचाले जस्तै भाङ्ग्रो ज्याकेट भिर्नुपर्ने हर्क दाइलाई जेलको साँघुरो छिँडीभित्र थुनिएको देख्दा मलाई उकुसमुकुस भयो ।

त्यो चिसो भूँइमा थचारिएर, चिसो गाँस टिप्दै गर्दा आफ्नी निरीह पत्नी र नावालक बच्चाको झल्कोले हर्क दाइको मन कति भक्कानिँदो हो ?
‘हामीले हिजो भाउजू र बच्चालाई भेट्यौं, राम्रोसँग बसिरहेका छन्’ भनेर सुनाउँदा हर्क दाइले सन्तोष माने । उनको चाहुरिएको अनुहारमा खुसी छचल्किए ।

तर, यर्थाथ अर्कै थियो । दर्के झरीमा हामीले हर्क दाइकी पत्नी र बच्चालाई भेट्दा उनीहरुको हाल बेहाल थियो । ओसिलो कोठामा बच्चा र आमा टीठलाग्दो गरी बसिरहेका थिए । छानाबाट पानी चुहिएर ओछ्यान भिजेको थियो । बच्चा त्यही लडीबुडी गरिरहेको थियो, नाङ्गै । भाउजूको आँखा र अनुहार पनि बर्खायामको मौसम जस्तै ओसिलो अनि उदास थियो ।

छुटिने बेला हर्क दाइले खबर पठाए, ‘उता पनि (पत्नीलाई) सूर्ता नमान्नु भन्दिनु । यहाँ राम्रैसँग बसिरहेको रहेछ भन्दिनु । खान, बस्न सुविस्तै रहेछ भन्दिनु ।’

जेलको उराठलाग्दो छिंडीभित्र फेरि मैले हर्क दाइको अनुहार नियालें । ऊ नसकी-नसकी हाँस्न खोजिरहेको जस्तो लाग्यो । खैनी माड्दै अट्टहास हाँस्ने हर्क दाइ आज साह्रै निरीह, अवोध लाग्यो ।

निरीह हुनु । त्यसमाथि सोझो हुनु । त्यसमाथि एक्लो हुनु । त्यसमाथि गरीब हुनु । कति टीठलाग्दो जिन्दगी !

आफ्नै सुरमा ज्यामी काम गरिरहेको हर्क दाइलाई सादा पोशाकमा आएका प्रहरीले यसरी पक्राउ गरे, मानाैं उनले जघन्य कसुर गरेका छन् । काम गर्दागर्दै ठेला उठेको तातो हत्केलामा चिसो हतकडी लगाइयो । पसीना ओभाएकै थिएन, एकछिन पनि आरम गर्न नदिई हिँडाइयो । विहानदेखि काममा जोतिएका उनको पेटमा सायद अन्न पनि परेको थिएन । न खान दिए, न थकाइ मार्न दिए, न एकसरो लुगा फेर्न नै ।

दुखियालाई जहाँ पनि दुखै दुख

हर्क दाइको जीवन ठीकठाकै थियो । आरा काट्थे, ज्यामी काम गर्थे, खेतला हिँड्थे । बनिबुतो गरेर परिवारका लागि दुई छाक जुटाउथे ।
यस्तैमा उनी मलेसिया उडे ।

परिवारलाई सुखको गाँस ख्वाउने मनोकांक्षा थियो, सायद । छिमेकीका अनुसार, दुखजिलो गरेर घरमा पैसा पनि पठाइरहेका थिए । ‘तर, उनकी पत्नी पोइल हिँडी’ छमेकीले सुनाए, ‘इन्डियातिरका रतन सुनुवार भन्नेसँग ।’

पछि हर्क दाइकै छोराले आमालाई फर्काएर ल्याएछ । पत्नी फर्किएपछि फेरि हर्क दाइले मलेसियाबाट पैसा पठाए, पत्नीका नाममा । ‘खाने चामल, तरकारी केही छैन भनेर यताबाट फोन गरेको रहेछ’ छिमेकी भन्छन्, ‘बिचराले पत्नी फर्किएको खुसीमा भनेजति पैसा पठाइदिए ।’
तर, आइएमईमा पैसा निकाल्न हिँडेकी पत्नी फेरि घर फर्किइनन् । उनी पैसा लिएर पहिलेकै केटासँग टाप कसिन् ।

फिक्कलमा आएर लुकिछिपी बसिरहेका उनीहरु छोराको उजुरीका आधारमा पक्राउ पनि परे । स्थानीय मानव अधिकारवादीको उपस्थितिमा उनलाई त्यही पुरुषसँग जिम्मा लगाइयो ।

यसरी उजाडिएको रहेछ, हर्क दाइको जिन्दगी । यसरी विथोलिएको रहेछ, हर्क दाइको सपना । यसरी तुहिएको रहेछ, हर्क दाइको खुसी ।

जो होचो, उसैको मुखमा….

घरबार बिगि्रएपछि विरक्तिएका हर्क दाइ मलेसियाबाट नेपाल फर्किए । संखुवासभाकी एक युवतीसँग दोस्रो घरजाम गरे । बच्चाको जायजन्म भयो ।

आफ्नो घर-जग्गा पहिली पत्नीकै नाममा थियो । उनीहरु नजिकै सानो कोठा डेरा लिएर बस्न थाले ।

अब हर्क दाइ पुरानै लयमा फर्किए । ज्यामी काम गर्न थाले, खेताला पात जान थाले । क्रमशः उनको पारिवारिक जीवन तङ्गि्रन थाल्यो ।
ठीक यहीबेला पहिली पत्नी फर्किएर आइन् र उत्पात मच्चाउन थालिन् । तिनको ताण्डव स्थानीयवासीले सहन सकेनन् । ‘हर्क विदेशमा भएकै बेला अर्को पुरुषसँग पोइल गएको’ भन्दै स्थानीयले हस्ताक्षर समेत संकलन गरेर प्रहरीमा बुझाए ।

तर, भइदियो उल्टो । ‘आफूमाथि गाली, बेइज्यती गरेको’ भन्दै स्थानीयवासीविरुद्ध हर्ककी पहिली पत्नीले उजुरी गरिन् । हर्कलाई जिल्ला प्रहरी कार्यलयमा बोलाइयो ।

सोझो हर्क दाइले पहिली पत्नीले अर्कैसँग बिहे गरेर गइसकेपछि अर्को बिहे गरेका थिए । तर, हर्क दाइमाथि ‘बहुविवाह’को मुद्दा चलाइयो । ‘पहिली पत्नीका बुवाको जिल्लाको नेतासँग राम्रो चिनजान रहेछ’ छिमेकी भन्छन्, ‘उनै नेताको सहयोगमा हर्कलाई थुनियो ।’ अन्ततः दिनभर हत्केलामा ठेला उठाएर पसिनाको गाँस खाने हर्क दाइ पक्राउ परे । जेल परे । तङ्गि्रन लागेको उनको परिवार फेरि बिल्लीबाठ भयो ।

हर्क दाइलाई भेटेपछि…..

हर्क दाइ थुनिए । उनीमात्र थुनिएनन्, उनको श्रम, सीप, उर्जा सबै थुनियो । ज्यामी काममा सीपालु, बलको काममा जाँगरिला, अप्ठ्यारा काममा हिम्मतिला हर्क दाइ अनुत्पादक भए । कति कर्मबीर हर्क दाइहरु यसरी नै हात बाँधेर जेलको पर्खालभित्र खुम्चिएका होलान् ?

नेपालको कारागारले करिब १४ हजार श्रमशक्तिलाई थुनेर राखेको तथ्यांक छ । त्यसरी थुनिएकामध्ये कोही ज्यामी होलान्, कोही मिस्त्री होलान् । कसैसँग खेती किसानीको अनुभव होला, कसैसँग यान्त्रिक ज्ञान होला । कसैसँग श्रम होला, कसैसँग सीप । यत्तिका कैदीलाई राज्यले दुई छाक ख्वाएर पाल्नुभन्दा उत्पादनशील काममा खटाउँदा हुँदैन ? सोझो हिसाबले मैले यस्तै सोचें ।

राज्यले लगानी गरेका कल-कारखाना, सडक-पुल निर्माण जस्ता भौतिक निर्माणका क्षेत्रमा कैदीहरुलाई खटाउन सकिन्छ कि ?

कैदीहरुलाई खुला आकासमुनि राख्दा भाग्न सक्ने वा अन्य आपराधिक दाउपेच रच्न सक्ने भय हुन्छ । तर, त्यो भय त्यसैमा हुन्छन् जसको प्रवृत्ति आपराधिक छ । किनभने जेलनेल भोगेका सबै आपराधिक मनोवृत्तिका हुँदैनन् । परिवन्ध, आवेग आदिले पनि उनीहरुलाई जेल पुर्‍याएको हुन्छ । कति त बिना कसुर पनि जेलनेल भोगिरहेका छन् ।

नभए, जेलकै पर्खालभित्र थुन्दा उनीहरुको श्रम, सीप, जाँगर, सिर्जनशीलता नष्ट हुँदै जान्छ । बरु, त्यो कालो कोठाभित्र उनीहरुको मनमा ग्लानी, अपराधवोधले जरा गाड्छ, जो समाजका लागि थप प्रत्युत्पादक हुन सक्छ । जेल सजायँ भोगेर फर्किएका व्यक्तिलाई सामाजिक जीवनमा फर्कन पनि निकै गाह्रो हुन्छ ।

थुनुवा बनाएर नराखी किन उनीहरुलाई खुला श्रम बजारमा प्रवेश गराउने त ? किनभने, यसले उनीहरुको मनोविकार हट्छ । आत्माग्लानी गर्नुपर्ने अवस्था पैदा हुँदैन । राज्यले अतिरिक्त व्यायभार बोक्नुपर्दैन । कैदीका परिवारको आर्थिक, मानसिक भार घट्छ । र, भौतिक निर्माणको काममा ठूलो श्रम शक्तिको अभाव टर्छ ।

त्यसैले विभिन्न कारणले जेल परेकाहरुलाई कैदीहरुलाई उनीहरुको कसुर, मनोवृत्ति आदिको आधारमा छुटाछुटै हिसाबले काममा खटाउनु राम्रो हुन्छ सायद । र, हर्क दाइको हकमा पनि यही कुरा सत्य हो ।

तर, आफ्नी पत्नी अर्कैसँग गइसकेपछि विहे गरेका हर्क दाइलाई पछिल्लो जायजन्म भइसकेको अवस्थामा नेताको भनसुनमार्फत प्रहरीले थुनेर राख्नु कत्तिको न्यायसंगत होला ? यो पनि प्रश्न उठेको छ ।

२०७४ भदौ १० गते १३:४१ मा प्रकाशित